बारा , ०२ कार्तिक
बारा जिल्लाको फेटा गाँउपालिका अन्तर्गत अकवनिया, भलुही र प्रसौनी गाँउपालिका अन्तर्गतका गोइठही र कलैया उपमहानगरपालिकाका मनगढवाका जेन जेड युवाहरुको एक समुहले आईतबार जिल्ला प्रशासन कार्यालय बारामा बंगरी नदिमा औद्योगिक फोहोर पानी मिसावट तुरुन्त रोक्न तथा कानूनी कारबाही र समाधानका लागि ज्ञापन पत्र बुझाएका छन ।
उक्त युवाहरुको समुहले पाँच सुत्रिय माग राखि प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेललाई ज्ञापन पत्र बुझाएका छन्। साथै यथासिघ्र कारवाही नभए अर्को चरणको आन्दोलनको घोषणा गर्ने समेत जानकारी दिएका छन्।
उक्त ज्ञापन पत्रमा कलैयामा रहेको रिलायन्स सुगर इन्डस्ट्रिज, श्रीपुरबाट निस्किएको फोहोर पानी फिल्टर वा उपचार विना सीधै बंगरी नदिमा मिसाइँदै आएको उल्लेख गरीएको छ। फोहोर पानीले नदिको पानी फोहर भएको, गन्ध आएको, तथा छालाको समस्या, एलर्जी, पेटसम्बन्धी समस्या जस्ता असरहरू देखिएको स्थानीयको अनुभव छ। नदि वरिपरि रहेका ब्रह्मपुरी, बेलहिया, प्रस्टोका, भतौडा, बैराटपुर, गोइठही, मनगढवा, भलुही, अकवनिया, त्रिवेणी लगायत करिब ५० भन्दा बढी गाउँ र टोल प्रत्यक्ष प्रभावित भएका छन ।
निकट भविष्यमा हुने शुभ दिपावली र विशेष गरी छठ पर्वमा नदि किनारमा अर्घ दिने धार्मिक पूजापाठ प्रत्यक्ष प्रभावित हुने देखिएकोले यो सार्वजनिक स्वास्थ्य, वातावरणीय अधिकार र धार्मिक आस्थासँग जोडिएको गम्भीर विषय भएको हामी जोरदार रूपमा औल्याएको समेत उल्लेख गरीएको छ।
नेपालको संविधानको धारा ३० (स्वच्छ वातावरणको हक), वातावरण संरक्षण ऐन, २०७६ तथा नियमावली, २०७७, र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले यस्ता हानिकारक फोहोर पानी नदिमा बगाउन नदिने स्पष्ट व्यवस्था गरेको हुँदा, जिल्ला प्रशासनले समन्वय र कार्यान्वयन अघि सारि दिनु पर्ने भन्दै आफ्नो मागहरु सहित ज्ञापन पत्र बुझाईएको छ ।