मधेशसमाचार

सांसद टेकबहादुर शाक्यद्वारा एसईई उत्कृष्ट विद्यार्थीलाई रु ५१ हजार पुरस्कार घोषणा

पर्सा, १० चैत

पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्यले आगामी एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्।

ठोरी गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ओडारमा आयोजित एसईई परीक्षार्थीहरूका लागि शुभकामना कार्यक्रममा बोल्दै सांसद शाक्यले चैत १९ गतेदेखि सञ्चालन हुने परीक्षामा पर्सा–४ बाट सहभागी विद्यार्थीमध्ये सर्वोत्कृष्ट जीपीए ल्याउने एक जना विद्यार्थीलाई रु ५१ हजार १ सय ११ नगद पुरस्कार दिने घोषणा गरेका हुन्।

त्यस्तै, आफ्नो निर्वाचन क्षेत्रभित्रका विभिन्न पालिकाबाट पालिका स्तरमा प्रथम हुने एक–एक जना विद्यार्थीलाई रु २१ हजार १ सय ११ का दरले प्रोत्साहन रकम प्रदान गरिने पनि उनले बताए।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शाक्यले विद्यार्थीहरूलाई आत्मविश्वासका साथ परीक्षामा सहभागी हुन प्रेरित गर्दै शिक्षा क्षेत्र सुधारका लागि राज्यले प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए। उनले पर्सा–४ को शिक्षा सुधारका लागि योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

शिक्षा बिना जीवन अधुरो हुने उल्लेख गर्दै उनले विद्यार्थीहरूलाई उज्ज्वल भविष्य निर्माणमा केन्द्रित हुन आग्रह गरे। एसईईपछि पठनपाठनमा कुनै समस्या आए आफूलाई अभिभावक सम्झेर सम्पर्क गर्न समेत उनले आग्रह गरे।

कार्यक्रममा समाजसेवी सन्तोष श्रेष्ठ, सरस्वती माध्यमिक विद्यालय गौतमनगरका प्रधानाध्यापक महेन्द्र उपाध्यायलगायतले शुभकामना मन्तव्य दिएका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणि घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य प्रधानाध्यापक भूपाल कुमार जोशीले गरेका थिए भने सहजीकरण सहायक प्रधानाध्यापक चिरञ्जीवी सापकोटाले गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button