मधेशसमाचार

अस्पतालभित्र निजी क्लिनिक सिफारिसमा रोक, उल्लङ्घन गरे कडा कारबाही हुने

बारा, १० चैत

अस्पतालभित्र निजी स्वास्थ्य संस्थाको सिफारिस तथा प्रचार–प्रसारमा पूर्ण रोक लगाइएको छ। मेडिकल सुपरिटेन्डेन्ट डा. अजय कुमार गुप्ताले मंगलबार सूचना जारी गर्दै सबै कर्मचारीलाई आचारसंहिता कडाइका साथ पालना गर्न निर्देशन दिएका छन्।

जारी सूचनाअनुसार अस्पताल परिसरभित्र कुनै पनि कर्मचारी वा सम्बन्धित व्यक्तिले आफ्नो वा अरूको निजी अस्पताल, क्लिनिक वा स्वास्थ्य केन्द्रको नाम लिने, सिफारिस गर्ने वा बिरामीलाई त्यहाँ जान प्रेरित गर्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ।

यस्ता गतिविधिले स्वास्थ्य सेवामा स्वार्थको द्वन्द सिर्जना गर्नुका साथै बिरामीको अधिकार र निष्पक्ष सेवामा नकारात्मक असर पार्ने भन्दै यसलाई गम्भीर अनुशासनहीनता र दण्डनीय कसूरको रूपमा लिइने जनाइएको छ।

यदि कसैले यस्तो कार्य गरेको पाइएमा नेपाल सरकारको जनस्वास्थ्य सेवा ऐन, २०७५, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको आचारसंहिता तथा अन्य प्रचलित कानुनअनुसार कडा कानुनी र प्रशासनिक कारबाही गरिने सूचनामा उल्लेख छ।

त्यस्तै, नेपाल मेडिकल काउन्सिलको आचारसंहिता, २०१७ अनुसार चिकित्सकले आफ्नो नाम, फोटो, डिग्री वा पेशागत विवरण कुनै पनि प्रकारको व्यावसायिक प्रचार–प्रसारमा प्रयोग गर्न नपाउने व्यवस्था रहेको पनि स्मरण गराइएको छ।

अस्पताल परिसर वा आसपास बिरामीलाई प्रभावित पार्ने उद्देश्यले निजी क्लिनिक वा अस्पतालका साइनबोर्ड तथा विज्ञापन सामग्री राख्न समेत निषेध गरिएको छ। निर्देशनको पूर्ण पालना गर्न/गराउन सम्बन्धित सबैको ध्यानाकर्षण गराइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button