मधेशसमाचार

यातायात व्यवस्था कार्यालयद्वारा बिचौलिया नियन्त्रणमा कडाइ, सेवाग्राहीलाई सिधै सेवा लिन आग्रह

बारा, १९ चैत

मधेश प्रदेश सरकार अन्तर्गत श्रम तथा यातायात मन्त्रालय मातहत रहेको यातायात व्यवस्था कार्यालयले सेवामा देखिएको अव्यवस्था हटाउन कडा कदम चाल्ने भएको छ। कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै बिचौलियामार्फत हुने सेवा प्रवाह पूर्ण रूपमा निषेध गरिएको जनाएको छ।

कार्यालयका अनुसार केही बिचौलियाहरूले सवारी बीमा, नवीकरण, चालक अनुमति पत्र (लाइसेन्स) लगायतका सेवाका नाममा सेवाग्राहीलाई झुक्याउने, अनावश्यक शुल्क लिने र हैरानी दिने काम गर्दै आएका छन्। यस्ता गतिविधिले सेवाग्राहीमा असन्तुष्टि बढाएको र कार्यालयको छवि समेत प्रभावित भएको उल्लेख गरिएको छ।

सूचनामा भनिएको छ कि कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ। यदि कसैले यस प्रकारको गतिविधि गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ। साथै, सेवाग्राहीलाई कुनै पनि सेवा सिधै कार्यालयबाट मात्र लिन र बिचौलियाको प्रलोभनमा नपर्न आग्रह गरिएको छ।

यस्तै, सम्बन्धित शोरुमबाट प्रतिनिधिहरु सवारी साधनको काम गराउन आउंदा अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने कागजात (आईडी कार्ड) साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ। यसले सेवा प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन मद्दत पुग्ने कार्यालयको विश्वास छ।

कार्यालयले जिल्ला प्रशासन कार्यालय बारा तथा जिल्ला प्रहरी कार्यालय बारालाई समेत आवश्यक अनुगमन तथा सहकार्यका लागि अनुरोध गरेको छ। बिचौलिया नियन्त्रण तथा सेवामा पारदर्शिता कायम गर्न सम्बन्धित सबै निकायसँग सहकार्य गरिने जनाइएको छ।

कार्यालय प्रमुख चिन्तन आचार्यले सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउँदै कुनै समस्या परे सिधै कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button