मधेशसमाचार

शिलान्यासको तीन वर्षमा डेढ करोड स्वाहा, झाँझ नदीको ९ करोडको पुल अलपत्र

रौतहट , २५ माघ

जिल्लाको माधव नारायण नगरपालिका वडा नं. ५ मिठुअवास्थित झाँझ नदीमा निर्माण सुरु गरिएको पक्की पुल तीन वर्ष बितिसक्दा पनि अलपत्र परेको छ। ठूलो तामझामका साथ शिलान्यास गरिएको ९ करोड लागतको उक्त योजना हाल अलपत्र बनेपछि स्थानीय आक्रोशित बनेका छन्।

शिलान्यास मात्रै काम भने अधुरै

तीन वर्षअघि आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले यस पुलको शिलान्यास गरेका थिए। पुल बनेपछि मिठुअवा र आसपासका बासिन्दाको वर्षौंदेखिको दुःख हट्ने आशा पलाएको थियो। तर हालसम्म डेढ करोड रुपैयाँभन्दा बढी खर्च भइसक्दा पनि पुलको अवस्था भने दयनीय छ। निर्माणका क्रममा तीनवटा पिलर ठडिए पनि हाल विस्तृत परियोजना प्रतिवेदन (DPR) मा त्रुटि भेटिएको भन्दै काम रोकिएको हो ।

सम्बन्धित प्राविधिकहरूका अनुसार पुलको उचाइ जति हुनुपर्ने थियो, त्यति नभएका कारण हालको डिपिआर कार्यान्वयन हुन नसक्ने देखिएको छ। प्राविधिक त्रुटिकै कारण पुलको बजेट समेत रोक्का गरिएको बताइएको हो । जिल्लाकै ठेकेदारले ठेक्का लिएको यस योजनामा ठेकेदार र सम्बन्धित निकायको लापरबाहीका कारण सरकारी बजेट ‘बालुवामा पानी’ सरह भएको स्थानीयको आरोप छ।

निर्वाचनका बेला मात्रै नेताको मुख

हिउँदमा धुलो र बर्खामा बाढीको सास्ती भोग्न बाध्य मिठुअवाबासीले निर्वाचनका बेला मत माग्न आउने नेताहरूलाई यसै पुलको विषयमा प्रश्न गर्न थालेका छन्। भोट माग्न आउँदा ठुला-ठुला आश्वासन दिइन्छ, तर शिलान्यास भएको तीन वर्षसम्म पुलको हालत यस्तो छ, एक स्थानीयले गुनासो गरे।

पुल अलपत्र परेपछि स्थानीयले मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवसँग विशेष पहलका लागि माग गरेका छन्। डिपिआर संशोधन गरी वा नयाँ प्रक्रियाबाट भए पनि पुल निर्माण कार्यलाई तत्काल अगाडि बढाउनुपर्ने उनीहरूको भनाइ छ। नदीमा पुल नहुँदा बर्खायाममा बिरामी अस्पताल पुर्‍याउन र विद्यार्थीहरूलाई विद्यालय जान समेत जोखिम मोल्नुपर्ने अवस्था छ।

समयमै निर्माण सम्पन्न नहुने र सरकारी ढुकुटीको दुरुपयोग मात्रै हुने यस्ता कनिका छरेजस्ता योजनाले विकासको साटो जनतामा निराशा मात्र बढाएको देखिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button