मधेशसमाचार

पन्नादेवी विद्यालयको २२ बिघा जग्गा आम्दानीमा रहस्यः ४० लाख बढी रकम माथि प्रश्न

बारा, २२ जेठ

बाराको कलैया उपमहानगरपालिका–५ घुसुकपुरस्थित पन्ना देवी कन्या माध्यमिक विद्यालयको नाममा रहेको २२ बिघा १७ कठ्ठा कृषि जग्गाबाट वर्षौंदेखि उठ्दै आएको आम्दानीको हिसाबकिताबमाथि गम्भीर प्रश्न उठेको छ। विद्यालयको पछिल्लो लेखापरीक्षण प्रतिवेदनले लाखौं रुपैयाँ बराबरको धानबाली बक्यौता देखाएपछि आर्थिक अनियमितता, अभिलेख लोप तथा रकम हिनामिनाको आशंका चुलिएको हो।
आर्थिक वर्ष २०८१/०८२ को अडिट प्रतिवेदनअनुसार विभिन्न जोताहाबाट विद्यालयले उठाउनुपर्ने ४० लाख २८ हजार २ सय ५० रुपैयाँ बराबरको धानबाली असुल हुन बाँकी रहेको उल्लेख गरिएको छ। तर प्रतिवेदनमा बक्यौता देखाइएका अधिकांश जोताहाहरूले आफूहरूले रकम समयमै बुझाइसकेको दाबी गरेका छन्। यसले विद्यालयको आधिकारिक अभिलेख र वास्तविक आर्थिक कारोबारबीच गम्भीर विरोधाभास देखिएको छ।
विद्यालयको नाममा रहेको कृषि जग्गाबाट वार्षिक ३४१ क्विन्टल २२ किलो धान प्राप्त हुनुपर्ने व्यवस्था छ। प्रतिक्विन्टल ३ हजार रुपैयाँका दरले हिसाब गर्दा विद्यालयले हरेक वर्ष १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नुपर्ने देखिन्छ। तर उक्त आम्दानीको स्पष्ट अभिलेख, बैंक विवरण तथा राजस्व व्यवस्थापनको विश्वसनीय तथ्य फेला नपरेपछि स्थानीयस्तरमा प्रश्नहरूको चाङ लागेको छ।
सबैभन्दा ठूलो बक्यौता उपेन्द्र प्रसाद चौधरी को नाममा देखिएको छ। अडिट प्रतिवेदनमा उनको नाममा १९ लाख २ हजार ६ सय रुपैयाँ बक्यौता रहेको र कुतबाली नतिरी जग्गा छाडिसकेको उल्लेख छ। तर विद्यालयका वर्तमान प्रधानाध्यापक नरेन्द्र कुमार गिरी ले उक्त विवरण तथ्यगत रूपमा गलत भएको बताउँदै चौधरी अहिले पनि सोही जग्गा जोतभोग गरिरहेको जानकारी दिएका छन्। अडिट प्रतिवेदनकै विवरण विद्यालय प्रशासनको भनाइसँग बाझिएपछि प्रतिवेदनको विश्वसनीयतामाथि नै प्रश्न उठेको छ।
त्यस्तै रामरुप प्रसाद चौधरी को नाममा १२ लाख ९० हजार ९ सय ९० रुपैयाँ बक्यौता देखाइएको छ। तर उनले तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिल मण्डल लाई स्थानीय जनप्रतिनिधि तथा गाउँलेहरूको रोहबरमा रकम बुझाएको दाबी गरेका छन्। रकम बुझाएको दाबी गरिए पनि त्यसको आधिकारिक रसिद वा बैंक प्रमाण विद्यालयसँग उपलब्ध छैन।
अर्का जोताहा सिकेन्द्र सहनी ले आफ्नो तर्फको रकम बैंक खातामार्फत जम्मा गरेको दाबी गरेका छन्। तर अडिट प्रतिवेदनमा उनको नाममा ३ लाख ६६ हजार २ सय १० रुपैयाँ बक्यौता रहेको उल्लेख छ। यसैगरी बैद्यनाथ सहनी को नाममा ४ लाख २१ हजार ८ सय रुपैयाँ तथा प्रधुमन प्रसाद चौधरी को नाममा ५० हजार ७ सय रुपैयाँ बक्यौता देखाइएको छ।
उल्लेखित पाँच जनाको नाममा मात्रै १ हजार ३ सय ४२ क्विन्टल ७५ किलो धानबाली बराबर ४० लाख २८ हजार २ सय ५० रुपैयाँ बक्यौता रहेको प्रतिवेदनमा उल्लेख छ। तर सम्बन्धित जोताहाहरूले रकम बुझाइसकेको दाबी गर्नु, विद्यालयसँग पर्याप्त अभिलेख नहुनु, रसिदहरू फेला नपर्नु तथा अडिट प्रतिवेदनमै तथ्यगत त्रुटि देखिनुले विद्यालयको आर्थिक प्रशासनमाथि गम्भीर आशंका पैदा गरेको छ।
स्थानीय अभिभावक तथा सरोकारवालाहरूका अनुसार यो प्रकरणले तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिल मण्डल, तत्कालीन प्रधानाध्यापक मोतिलाल यादव तथा लेखापाल राकेश यादव को कार्यकालमा भएका आर्थिक कारोबारको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। उनीहरूले विद्यालयको सम्पूर्ण आर्थिक कारोबार, जग्गा आम्दानी, बैंक खाताको विवरण तथा विगतका लेखा अभिलेखमाथि स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
यता वर्तमान प्रधानाध्यापक नरेन्द्र कुमार गिरीसँग यस विषयमा विस्तृत प्रतिक्रिया लिन खोजिए पनि उनले सार्वजनिक रूपमा बोल्न अस्वीकार गरेका छन्।
विद्यालयको खातामा नदेखिएको लाखौं रुपैयाँ वास्तवमै उठेको थियो कि थिएन ? उठेको भए रकम कसको जिम्मामा गयो ? यदि रकम उठेकै छैन भने अडिट प्रतिवेदनमा किन बक्यौता देखाइयो ? र यदि उठेको रकमको अभिलेख छैन भने त्यसको जिम्मेवारी कसले लिने ? यी प्रश्नहरूको जवाफ अब सम्बन्धित निकायको निष्पक्ष छानबिनले मात्र दिन सक्ने अवस्था देखिएको छ। तर हालसम्म सार्वजनिक भएका तथ्यहरूले विद्यालयको आर्थिक प्रशासनमा गम्भीर अनियमितता भएको आशंकालाई थप बल पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button