
सोमबार जिल्ला प्रशासन कार्यालय बारामा भएको भेटघाटका क्रममा प्रजिअ मिश्रले सिडिई साहलाई गत आर्थिक वर्ष २०८१/०८२ मा देखिएका कमजोरी, विवाद र जनगुनासो दोहोरिन नदिन स्पष्ट चेतावनी दिएका हुन्। प्रशासन स्रोतका अनुसार प्रजिअ मिश्रले कार्यालय सञ्चालन, योजना व्यवस्थापन, कर्मचारी परिचालन तथा सेवाप्रवाहलाई पूर्ण रूपमा पारदर्शी, जवाफदेही र जनमुखी बनाउन निर्देशन दिएका छन्।
प्रजिअ मिश्रले कार्यालय समयको पूर्ण पालना गर्न, सेवाग्राहीलाई अनावश्यक दुःख नदिन तथा कर्मचारीहरूलाई सक्रिय र जिम्मेवार बनाउन विशेष जोड दिएका छन्। उनले कार्यालयभित्र कार्यसंस्कृति सुधार नगरी विकास निर्माणको गुणस्तर सुधार हुन नसक्ने भन्दै कर्मचारीहरूलाई समेत जिम्मेवारीबोध गराउन आग्रह गरेका छन्।
स्रोतका अनुसार भेटका क्रममा प्रजिअ मिश्रले कार्यालयका स्थायी कर्मचारीलाई निष्क्रिय बनाएर करार तथा अन्य कर्मचारीको भरमा कार्यालय सञ्चालन गर्ने प्रवृत्तिप्रति समेत असन्तुष्टि व्यक्त गरेका थिए। उनले कर्मचारी संयन्त्रलाई चुस्त, सक्रिय र उत्तरदायी बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न सिडिई साहलाई निर्देशन दिएका छन्।
त्यसैगरी आर्थिक वर्षको अन्त्यतिर कार्यालय र ठेकेदारबीच हुने अस्वाभाविक चलखेल, अनावश्यक भेटघाट तथा अपारदर्शी गतिविधिप्रति समेत प्रशासनले चासो व्यक्त गरेको छ। प्रजिअ मिश्रले कार्यालयको कामकाजमाथि प्रश्न उठ्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्दै कार्यालय समयबाहेक हुने अनावश्यक समन्वय र व्यक्तिगत सम्बन्धका कारण सरकारी काम प्रभावित हुन नहुने बताएका स्रोतको दाबी छ।
जिल्ला प्रशासन कार्यालयले विकास निर्माणसँग सम्बन्धित कार्यालयहरूमा पछिल्लो समय बढ्दो जनगुनासो, काममा ढिलासुस्ती, गुणस्तरहीन निर्माण तथा आर्थिक अनियमिततासम्बन्धी उजुरीलाई गम्भीरतापूर्वक लिएको बताइएको छ। यही सन्दर्भमा पूर्वाधार विकास कार्यालयलाई विशेष निगरानीमा राखिएको चर्चा समेत प्रशासनिक वृत्तमा चलिरहेको छ।
यस विषयमा प्रतिक्रिया लिन पूर्वाधार विकास कार्यालय कलैयाका सिडिई ओमकुमार साहसँग सम्पर्क गर्दा उनले सोमबार मात्र कार्यालयमा हाजिर भएको जानकारी दिए। प्रजिअसँगको भेटबारे उनले प्रशासन प्रमुखले कार्यालयलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी ढंगले सञ्चालन गर्न निर्देशन दिएको स्वीकार गरे।
साहले आर्थिक वर्ष २०८२/०८३ को प्रारम्भिक चरण तथा अघिल्लो वर्षका बाँकी कामहरूको व्यवस्थापनका कारण बिहान–बेलुका समेत काम गर्नुपर्ने अवस्था रहेको बताए। उनले कार्यालयको संवेदनशीलता र कार्यचापलाई ध्यानमा राख्दै आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरेको पनि जानकारी दिए।
पछिल्लो समय बारा जिल्लामा विकास निर्माणका काममा पारदर्शिता, गुणस्तर र जवाफदेहिताको विषयलाई लिएर व्यापक बहस भइरहेका बेला प्रमुख जिल्ला अधिकारीबाट आएको यो निर्देशनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। प्रशासनले स्पष्ट रूपमा सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेको सन्देश दिएको विश्लेषण गरिएको छ।
अब पूर्वाधार विकास कार्यालय कलैयाले आगामी दिनमा आफ्नो कार्यशैलीमा कत्तिको सुधार ल्याउँछ, विकास योजनाको कार्यान्वयनलाई कति पारदर्शी बनाउँछ र जनविश्वास पुनः स्थापित गर्न कत्तिको सफल हुन्छ भन्ने विषय चासोका साथ हेरिएको छ। प्रशासनको निर्देशनपछि कार्यालयमाथि जनताको निगरानी र अपेक्षा दुवै बढेको देखिन्छ।



