मधेशसमाचार

छानबिनबाट सफाइ पाएपछि सुधन गुरुङ फेरि गृहमन्त्री

छानबिनबाट सफाइ पाएपछि सुधन गुरुङ फेरि गृहमन्त्री

काठमाडौं, २६ जेठ

पूर्व गृहमन्त्री सुधन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्रीको सिफारिसमा उनको पुनर्नियुक्ति भएपछि आज दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
व्यापारी दीपक भट्टसँगको व्यावसायिक सम्बन्ध र बीमा कम्पनीको सेयर खरिदसम्बन्धी विवादका कारण केही समयअघि गुरुङ दबाबमा परेका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका भट्टसँग सम्बन्धित कम्पनीहरूमा गुरुङले लगानी गरेको विषय सार्वजनिक भएपछि उनको सम्पत्तिको स्रोतबारे विभिन्न प्रश्न उठेका थिए।
आफूमाथि लागेको आरोपबारे स्पष्टीकरण दिँदै गुरुङले करिब ५० लाख रुपैयाँ बराबरको सेयर सापटी रकमबाट खरिद गरेको बताएका थिए। तर सार्वजनिक तथा राजनीतिक दबाब बढेपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी पहिलो पटक नियुक्त भएको २६ दिनमै पद त्याग्न बाध्य बनेका थिए।
विवादको सत्यतथ्य छानबिन गर्न सरकारले वैशाख २८ गते उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका थिए। समितिलाई गुरुङसँग सम्बन्धित सार्वजनिक आरोपहरूको अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो।
समितिले निर्धारित समयभित्र काम सम्पन्न गर्न नसकेपछि थप पाँच दिनको म्याद पाएको थियो। विस्तृत अध्ययन र कागजात परीक्षणपछि समितिले गुरुङविरुद्ध उठाइएका आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकालेको छ।
सरकारलाई बुझाइएको ४५ पृष्ठ लामो प्रतिवेदनमा गुरुङका चल तथा अचल सम्पत्तिको स्रोत वैध देखिएको उल्लेख गरिएको छ। प्रतिवेदनले सम्पत्ति विवरणमा देखिएका केही असंगतिलाई व्यक्तिगत कमजोरीभन्दा पनि राज्यको अभिलेख तथा सूचना व्यवस्थापन प्रणालीको कमजोरीका रूपमा व्याख्या गरेको छ।
छानबिन समितिबाट सफाइ पाएसँगै सरकारले गुरुङलाई पुनः गृहमन्त्रीको जिम्मेवारी सुम्पिएको हो। उनको पुनर्नियुक्तिसँगै पछिल्ला महिनादेखि चर्चामा रहेको विवाद राजनीतिक रूपमा नयाँ मोडमा पुगेको विश्लेषण गरिएको छ। विपक्षी दलहरूले भने समितिको निष्कर्ष र पुनर्नियुक्तिबारे थप प्रश्न उठाउने संकेत गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button