मधेशसमाचार

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार आरोपी

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार आरोपी

बारा, ०३ असार

बारा प्रहरीले १८ वर्षअघि भएको हत्या घटनाका फरार आरोपीलाई पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय बाराले पुरानो हत्या घटनाका अभियुक्त पक्राउ परेको जानकारी दिएको हो ।

प्रहरीका अनुसार साविक बारा गाविस वडा नम्बर–४ हाल फेटा गाउँपालिका–१ बत्रा टोल निवासी वर्ष ४५ का गोपाल मुखिया बिनको हत्या घटनामा संलग्न रहेका विशेश महतोलाई पक्राउ गरिएको हो । उनी रामदेव महतोका छोरा रहेको प्रहरीले जनाएको छ ।

२०६७ साल फागुन २६ गते पुरानो रिसिइबीका कारण गोपाल मुखिया बिनमाथि धारिलो हतियार प्रयोग गरी घाँटी (कण्ठ) काटेर हत्या गरिएको थियो । घटनापछि फरार रहेका विशेश महतोलाई लामो समयको अनुसन्धान र खोजतलासपछि प्रहरीले २०८३ असार १ गते पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनामा संलग्न आरोपी लामो समयदेखि फरार सूचीमा रहेका थिए । विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका उनलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । पक्राउपछि आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरी सम्मानित बारा जिल्ला अदालतको आदेशअनुसार उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले लामो समयदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गर्नु प्रहरीको अनुसन्धान क्षमता र सक्रियताको परिणाम भएको जनाएको छ । गम्भीर प्रकृतिका अपराधमा संलग्न व्यक्ति कानूनको पहुँचभन्दा बाहिर रहन नसक्ने सन्देश यो पक्राउले दिएको प्रहरी अधिकारीहरूको भनाइ छ ।

प्रहरीले पछिल्लो समय पुराना मुद्दा तथा फरार अभियुक्तहरूको खोजीलाई प्राथमिकतामा राख्दै अभियान सञ्चालन गरिरहेको जनाएको छ । जिल्लामा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन यस्ता कारबाहीलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button