मधेशसमाचार

घरदैलोमा सक्रिय इन्जिनियर अरविन्द साह, विकास र पारदर्शितामा जोड

बारा, २५ माघ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका इन्जिनियर अरविन्द साहले घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्।

शनिबार उनी कलैया उपमहानगरपालिका–२ का कलैया गाउँ र दोहरीमा घरदैलो कार्यक्रम सम्पन्न गर्न पुगेका थिए। कार्यक्रममा उम्मेदवार साहले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो राजनीतिक एजेन्डा, विकास योजनाहरू र क्षेत्रीय समस्या समाधानका उपायहरू विस्तारपूर्वक प्रस्तुत गरेका थिए।

घरदैलोमा बोल्दै इन्जिनियर साहले भ्रष्टाचार, बेथिति र सरकारी संरचनाभित्रको दलीयकरण अन्त्य गर्नुपर्ने आवश्यकतामा जोड दिए। उनले पारदर्शी, जवाफदेह र उत्तरदायी शासन प्रणाली स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्दै मतदातासँग विश्वास जित्ने प्रयास गरे।

साहले आफ्ना योजनामा सडक, सरसफाइ, खानेपानी, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा दीर्घकालीन सुधार ल्याउने विषयलाई प्राथमिकतामा राखेको जानकारी गराए। उनले यसका लागि स्पष्ट रोडम्याप तयार गरिएको र कार्यान्वयनमा कुनै सम्झौता नहुने बताइन्।

घरदैलो कार्यक्रममा रास्वपा का स्थानीय नेता, कार्यकर्ता, स्वयंसेवक र युवाहरूको सहभागिता उल्लेखनीय रह्यो। मतदातासँगको प्रत्यक्ष संवादमा उनीहरूको उत्साह र जवाफदेहिता देखिनु चुनावी अभियानमा साहको सक्रियतामा बल थप्ने संकेतका रूपमा लिइएको छ।

स्थानीय विश्लेषकहरूले इन्जिनियर साहको घरदैलो अभियानलाई क्षेत्रीय जनसमर्थन सुदृढ गर्ने मुख्य माध्यमका रूपमा मूल्याङ्कन गरेका छन्। आगामी निर्वाचनसम्म उनको निरन्तर सक्रियता र प्रत्यक्ष संवादले मतदातामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button