
बारा , २४ जेठ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साभित्र लामो समयदेखि देखिएको आन्तरिक विवाद जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा थप चर्किएको छ। कलैया उपमहानगरपालिकाको नगर अधिवेशनको नतिजा र जिल्ला प्रतिनिधि चयनलाई लिएर उत्पन्न विवादका कारण पार्टीभित्र दुई पक्षबीच टकराव बढ्दै गएको छ।
कलैया उपमहानगरपालिकाको नगर अधिवेशनमा उमाशंकर रौनियार १२४ मत प्राप्त गर्दै नगर सभापतिमा निर्वाचित भएका थिए। निर्वाचित पदाधिकारीहरूको शपथ ग्रहणसमेत सम्पन्न भइसकेपछि मधेश प्रदेश समितिले पुनः निर्वाचन गराउने सूचना जारी गरेपछि विवाद सुरु भएको हो।
पुनः निर्वाचनको निर्णयविरुद्ध कलैया उपमहानगरपालिकाका कार्यकर्ताहरूले आइतबार पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्। प्रदर्शनकारीहरूले पारदर्शी र विधिसम्मत निर्णयको माग गर्दै ५० प्रतिशतभन्दा बढी मत नपुगेको आधार देखाएर पुनः निर्वाचनको सूचना जारी गरिएको दाबी गरेका छन्। उनीहरूले उक्त निर्णय पार्टीको विधान, लोकतान्त्रिक मूल्य र संगठनात्मक प्रक्रियाविपरीत रहेको आरोप लगाएका छन्।
यता, विवादका कारण रास्वपा पर्साको प्रथम जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया पनि प्रभावित बनेको छ। शनिबार वीरगञ्जस्थित होटल गेटवेमा आइतबार हुने जिल्ला अधिवेशनका लागि निर्वाचन प्रक्रिया सञ्चालन भइरहेका बेला मतदाता अर्थात् जिल्ला प्रतिनिधिको नामावलीलाई लिएर दुई पक्षबीच विवाद चर्किएको थियो। विवादले उग्र रूप लिएपछि हानाहानको अवस्था सिर्जना भएको र निर्वाचन समितिले निर्वाचन प्रक्रिया स्थगित गरेको थियो।
निर्वाचन समितिका संयोजक डा. नन्दन यादवले प्रारम्भिक रूपमा निर्वाचन प्रक्रिया आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको सूचना जारी गरेका थिए। त्यसपछि पुनः अर्को सूचना जारी गर्दै आइतबार अपराह्न ३ बजेदेखि निर्वाचन प्रक्रिया अघि बढाइने जनाइएको थियो। तर साँझसम्म पनि निर्वाचन प्रक्रिया सुरु हुन नसकेको र अधिवेशन अन्योलमै रहेको जनाइएको छ।
अधिवेशनस्थल क्लासिक बैंकेटमा कार्यकर्ताहरू नेतृत्वको निर्णयको प्रतीक्षामा रहेका छन्। विवाद समाधानका लागि काठमाडौंबाट आएका रास्वपाका संगठन विभाग सचिव शंकर श्रेष्ठको उपस्थितिमा होटल भिस्वामा दुवै पक्षका नेताबीच निरन्तर छलफल भइरहेको स्रोतले जनाएको छ।
विवाद थप चर्किने क्रममा आइतबार बिहान कलैया महानगर समितिका सभापति दीपराज श्रेष्ठले महानगर समिति अन्तर्गत रहेका सबै विभागहरू खारेज गरिएको घोषणा गरेका थिए। उक्त निर्णयपछि पार्टीभित्रको असन्तुष्टि झन् बढेको बताइएको छ।
रास्वपा पर्साका सभापति तथा पर्सा–१ का सांसद हरि पन्त ले दुवै पक्षबीच सहमति खोज्ने प्रयास जारी रहेको बताएका छन्। उनका अनुसार पार्टीभित्र देखिएको विवाद संवाद र सहमतिमार्फत समाधान गर्ने प्रयास भइरहेको छ।
पर्सामा पालिका अधिवेशनदेखि नै सुरु भएको गुटगत विवाद जिल्ला अधिवेशनको समयमा थप सतहमा आएको देखिएको छ। एक पक्षको नेतृत्व सांसद हरि पन्तले गर्दै आएका छन् भने अर्को पक्षमा पर्सा–२ का सांसद सुशील साह कानु, पर्सा–३ का सांसद रमाकान्त चौरसिया र पर्सा–४ का सांसद टेकबहादुर शाक्य रहेको बताइएको छ।
सांसद सुशील साह कानुले जिल्ला सभापतिले जिल्लाका १४ स्थानीय तहमध्ये ८ पालिकामा अधिवेशन नै नगराएको तथा जिल्ला प्रतिनिधि चयन प्रक्रियामा एकलौटी गरेको आरोप लगाएका छन्। उनले विभिन्न विभाग गठन गरी त्यही माध्यमबाट अतिरिक्त प्रतिनिधि थपिएको दाबी गर्दै पार्टीको अधिवेशन र निर्वाचन प्रक्रिया पार्टीको विधान, निर्देशन तथा लोकतान्त्रिक अभ्यासअनुसार हुनुपर्नेमा जोड दिएका छन्।
पार्टीभित्रको विवाद समाधान नभएसम्म जिल्ला अधिवेशन र नेतृत्व चयन प्रक्रिया कहिले सम्पन्न हुन्छ भन्ने विषय अन्योलमै रहेको छ।



