मधेशसमाचार

देवाही गोनाहीमा कालोपत्रे सडक निर्माणमा चरम लापरवाही प्राविधिक र ठेकेदारको मिलोमतोको आरोप

रौतहट , २५ जेठ
 जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ४ स्थित धार्मिक तथा ऐतिहासिक स्थल रामजानकी मठदेखि ईमलिया टोलसम्म भइरहेको कालोपत्रे सडक निर्माण कार्यमा व्यापक अनियमितता र लापरवाही भएको पाइएको छ। निर्माण कार्यमा आवश्यक न्यूनतम मापदण्ड समेत पालना नगरी हतार–हतारमा गुणस्तरहीन काम भइरहेको भन्दै स्थानीयवासीले तिव्र विरोध जनाएका छन्।
​स्थानीय नागरिकहरूका अनुसार सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले प्राविधिक स्टिमेट लागत इष्टिमेटलाई पूर्ण रूपमा बेवास्ता गर्दै कमजोर पूर्वाधार तयार पारेको छ। सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्राविधिक इन्जिनियर संजय यादव र ठेकेदार पक्षबीचको आपसी मिलोमतोका कारण यस्तो गुणस्तरहीन कामले प्रश्रय पाएको स्थानीयको गम्भीर आरोप छ। प्राविधिक अनुगमन फितलो हुनु र जिम्मेवार अधिकारीकै संरक्षण रहनुले निर्माण पक्षको मनोबल बढेको दाबी गरिएको छ।
​कुनै पनि सरकारी बजेट वा सार्वजनिक विकास निर्माणका योजनाहरू सञ्चालन गर्दा सर्वसाधारणको जानकारीका लागि योजनाको कुल लागत, दातृ निकाय वा स्रोत, ठेक्का स्वीकृत भएको मिति, काम सम्पन्न गर्नुपर्ने अवधि र निर्माण व्यवसायीको नामसहितको सूचना बोर्ड होडिङ बोर्ड अनिवार्य रूपमा राख्नुपर्ने कानुनी प्रावधान छ। तर यस सडक खण्डमा त्यस्तो कुनै पनि बोर्ड राखिएको छैन। सूचना लुकाएर अपारदर्शी ढंगले काम गरिएकाले पनि यस योजनामा ठूलो आर्थिक चलखेल भएको आशंकालाई बल पुर्‍याएको छ।
​​यसैबीच सडक निर्माणमा भइरहेको बदमासी र जनगुनासोप्रति नेकपा एमाले रौतहट जिल्ला उपाध्यक्ष रूपेश कुमार पटेलले गम्भीर ध्यानाकर्षण भएको जनाए । नेता पटेलले राज्यकोषको बजेट दुरुपयोग गरेर जनस्वास्थ्य र स्थानीयको विकासमाथि खेलबाड गर्ने छुट कसैलाई नभएको बताए।
​सम्बन्धित सरोकारवाला निकाय जिल्ला प्रशासन र सडक डिभिजन कार्यालयले तत्कालै स्थलगत अनुगमन गरी कामको गुणस्तर परीक्षण ल्याब टेस्ट गर्नुपर्ने उनको माग छ। यदि प्राविधिक इन्जिनियर र ठेकेदारको मिलेमतो प्रमाणित भएमा दुवै पक्षलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गरिनुपर्छ, उपाध्यक्ष पटेलले चेतावनी दिँदै भने जनताको करबाट बनेको सडक एक वर्ष पनि नटिक्ने गरी बनाउनु राज्यको सम्पत्तिमाथिको डकैती हो।
​यस सम्बन्धमा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्राविधिक इन्जिनियर संजय यादवसँग बुझ्न खोज्दा उनीसँग तत्काल सम्पर्क हुन सकेन। यद्यपि निर्माण कार्यमा कमजोरी भएको खण्डमा पुनः सुधार गराइने र मापदण्ड विपरीतका कामलाई मान्यता नदिइने सडक डिभिजन स्रोतले जनाए ।
​गुणस्तरहीन सडकका कारण हिउँदमा धूलो र वर्षात्मा हिलोको समस्या झन् बढ्ने भन्दै आक्रोशित स्थानीयवासीहरू आफैं अनुगमनमा उत्रिएका छन्। प्राविधिक रूपमा त्रुटिरहित र गुणस्तरीय काम सुनिश्चित नभएसम्म सडक निर्माण कार्य अगाडि बढ्न नदिने र आवश्यकता परे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत देवाही गोनाही–४ का बासिन्दाले दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button