
वीरगंज, २८ जेठ
जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलि बिना बिल–बिजक भारततर्फ लैजाँदै गरिएको ठूलो परिमाणको स्याउसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। बरामद गरिएको स्याउसहित पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा २०८३ जेठ २८ गते बिहान करिब ०९:०० बजे वीरगञ्ज महानगरपालिका–१६ स्थित मितेरी पुलमुनिको बाटो हुँदै जाँदै गरेको बी.म.न.पा. १ ह १–०७९६ नम्बरको अटो रिक्सा रोकी चेकजाँच गरिएको थियो।
चेकजाँचका क्रममा उक्त अटो रिक्सा भित्र ८ कार्टुन स्याउ फेला परेको थियो। प्रारम्भिक सोधपुछमा ती स्याउ बिना बिल–बिजक भारततर्फ लैजाँदै गरिएको खुल्न आएको प्रहरीले जनाएको छ।
त्यसपछि गरिएको थप अनुसन्धान तथा नियन्त्रणमा लिइएका व्यक्तिहरूको बयानका आधारमा वीरगञ्ज महानगरपालिका–८, गहवा क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेको गोदाम फेला परेको थियो। सो गोदाममा खानतलासी गर्दा थप ५९ कार्टुन स्याउ बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
बरामद गरिएको स्याउको कुल मूल्य करिब रु. ३,७५,२०० रहेको जनाइएको छ।
प्रहरीले गोदाम सञ्चालकसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा वीरगञ्ज–१४ बस्ने २९ वर्षीय धनन्जय प्रसाद कलवार (गोदाम सञ्चालक), सोही स्थानका २० वर्षीय अमन कुमार पासवान (सहयोगी) र वीरगञ्ज–२ छप्कैया बस्ने १९ वर्षीय इब्राहिम आलम (अटो चालक) रहेका छन्।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।



