मधेशसमाचार

मतदाता नामावली दर्ता गर्न तीन दिन बाँकी, सर्भरमा समस्या कारण सेवा प्रभावित

बारा, २८ कार्तिक

आगामी निर्वाचन लक्षित गर्दै देशभर मतदाता नामावलीमा नाम दर्ता अभियान तीव्र रूपमा सञ्चालन भइरहेको छ। बारा, पर्सा र रौतहट लगायत मधेश प्रदेशका विभिन्न जिल्लामा नयाँ मतदाता दर्ता गराउने नागरिकहरूको भीड बढ्दै गएको छ।

तर, जिल्ला निर्वाचन कार्यालयमा सर्भरमा देखिएको प्राविधिक समस्याका कारण नाम दर्ता प्रक्रियामा कठिनाइ आएको छ। कार्यालयका सूचना अधिकारी मुकेश कुमार सिंहका अनुसार, “सर्भरमा बारम्बार समस्या आउँदा काममा ढिलाइ भएको हो। कर्मचारीहरू निरन्तर प्रयासरत छन्, तर प्रविधिगत अवरोधले सेवाग्राहीले समस्या भोग्नुपरेको छ।”

उनका अनुसार, मतदाता नामावली दर्ता गर्न अब केवल तीन दिन मात्र बाँकी रहेको छ। यस अवधिभित्र नागरिकले आवश्यक कागजातसहित सम्बन्धित जिल्ला निर्वाचन कार्यालय वा तोकिएका नाम दर्ता केन्द्रमा पुगेर आफ्नो नाम सूचीकृत गराउन सक्नेछन्।

रौतहट, पर्सा र बाराका विभिन्न दर्ता केन्द्रमा नागरिकहरूको भीड बाक्लिँदै गएको छ। धेरैले सर्भर ढिलो चल्ने, लाइन लामो हुने र फोटोग्राफ अपलोडमा समस्या हुने गुनासो गरेका छन्।

निर्वाचन आयोगका अनुसार, नाम दर्ता प्रक्रिया पूरा गरेपछि मतदाताले आगामी निर्वाचनमा आफ्नो मतदान अधिकार सुनिश्चित गर्न सक्नेछन्। आयोगले सर्भर समस्या समाधानका लागि प्राविधिक टोली परिचालन गरेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button