पर्सा, कार्तिक २८
जिल्ला प्रहरी कार्यालय पर्साको सूचना संकलन तथा विश्लेषण शाखाले अनलाइन ठगीमा सक्रिय एक संगठित समूहलाई नियन्त्रणमा लिन सफल भएको छ। विशेष सूचनाका आधारमा २०८२ कार्तिक २६ गते दिउँसो बीरगंज महानगरपालिका–८, प्रभु अस्पताल अगाडिको सडकखण्डमा सञ्चालन गरिएको अपरेशन मार्फत तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले सर्वसाधारणलाई प्रलोभनमा पारी विभिन्न बैंकहरूको Money Mule Account खोल्ने, ती खाताहरू प्रयोग गरी Phishing, OTP Fraud, Job Scam, Fake Online Business Scam जस्ता अनलाइन अपराध सञ्चालन गर्ने तथा विभिन्न कम्पनीका कागजातहरू जालसाजी गरी सामानहरूको Fake Order Bill तयार पार्ने कार्य गर्दै आएका थिए।
अनुसन्धानका क्रममा उनीहरूले विभिन्न बैंक तथा डिजिटल वालेटमार्फत करिब १० करोड रुपैयाँभन्दा बढी अवैध कारोबार गरेको खुलासा भएको छ। प्रहरीले उनीहरूबाट ४३ थान ATM Card समेत बरामद गरेको छ, जसमार्फत अवैध रकम कारोबार हुँदै आएको बताइएको छ।
पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगंज महानगरपालिका -२९ मुसैली बस्ने बर्ष ३५ को कृष्णा प्रसाद साह , बारा जिल्ला विश्रामपुर गाउँपालिका -१ बस्ने राहुल मण्डल र एक जना १४ बर्षिय नाबालक रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका पर्साको अनुसार पक्राउ परेकाहरू विरुद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत पर्साबाट तीन दिनको म्याद थप अनुमति पछि विस्तृत अनुसन्धान अगाडि बढाइएको छ।
प्रहरीले अनलाइन मार्फत आउने लोभलाग्दा प्रस्ताव, लिंक, कामका अफर, अनलाइन व्यापारका नाममा हुने प्रलोभन तथा अज्ञात नम्बर–खातासँगको सम्पर्कबाट सतर्क रहन समेत सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा अवैध कारोबारको स्रोतबारे थप अनुसन्धान जारी छ।

Leave a Reply