मधेशसमाचार

कासघारी र धानबारीमा लुकाएर राखिएको १० लाखको कपडासहित कारोबारी पक्राउ

हरिकिशोर शर्मा
 पर्सा, १० भदौ
पर्साको जिराभवानी गाउँपालिका–१ बलुवाबाट प्रहरीले भन्सार छली गरी ल्याइएको करिब १० लाख रुपैयाँ मूल्य बराबरको कपडासहित एक जना कारोबारीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१७ का २५ वर्षीय दिप्रन्द्र साह रहेका छन्। इलाका प्रहरी कार्यालय सेढवा, प्रहरी चौकी महादेवपट्टी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट महादेवपट्टीबाट खटिएको संयुक्त टोलीले बलुवा टोलस्थित कासघारी र धानबारीमा लुकाएर राखिएको १२ पोका कपडासहित साहलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार भारतको भंगहाबाट रातिको समयमा भन्सार छली गरी ल्याइएको कपडाका पोका गाउँ नजिकैको कासघारी र धानबारीमा लुकाएर राखिएको अवस्थामा फेला परेको थियो। बरामद कपडाको अन्दाजी मूल्य १० लाख रुपैयाँ रहेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
प्रहरीले पक्राउ परेका साहलाई बरामद कपडासहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाएको जनाएको छ।
घटनामा संलग्न अन्य व्यक्ति तथा कपडा भन्सार छली गरी ल्याउने कार्यमा प्रयोग भएको सञ्जालबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button