
कलैया , ०९ भदौ
कलैया उपमहानगरपालिका–६ स्थित ज्ञान सरोबर इङ्ग्लिस स्कुलमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीले मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीरसँग जनकपुरधामस्थित उनको कार्यकक्षमा भेटघाट तथा अन्तरक्रिया गरेका छन्।
अन्तरक्रियाका क्रममा विद्यार्थीले मधेस प्रदेशको शिक्षा क्षेत्रको अवस्था, गुणस्तरीय शिक्षा तथा छात्राको सुरक्षालगायत विषयमा मन्त्री समीरको ध्यानाकर्षण गराएका थिए। उनीहरूले प्रदेशमा शिक्षाको गुणस्तर सुधारका लागि सरकारले प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुका साथै पर्याप्त लगानी बढाउनुपर्नेमा जोड दिए।
ग्रामीण तथा आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीले समेत समान रूपमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण निर्माण गर्नुपर्ने विद्यार्थीहरूको माग थियो। यस्तै, छात्राहरूले विद्यालय तथा सार्वजनिक स्थानमा सुरक्षित वातावरण निर्माण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै महिला तथा बालिकामाथि हुने हिंसा, दुर्व्यवहार र असुरक्षाका घटना न्यूनीकरणका लागि प्रभावकारी सुरक्षा व्यवस्था आवश्यक रहेको बताए।
विद्यार्थीका जिज्ञासा र सुझावको जवाफ दिँदै मन्त्री समीरले मधेस प्रदेश सरकार सबै प्रदेशवासीको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए। सरकारको दायित्व कुनै एक वर्ग वा समूहमा सीमित नभई सम्पूर्ण प्रदेशवासीको सुरक्षा र हित सुनिश्चित गर्नु रहेको उनको भनाइ थियो।
मन्त्री समीरले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। प्रदेशको समग्र विकासका लागि यी क्षेत्रको सुधार अपरिहार्य रहेको उल्लेख गर्दै उनले विद्यार्थीले अध्ययनसँगै समाज र प्रदेशको विकासका विषयमा चासो राखेकोमा खुसी व्यक्त गरे।
अन्तरक्रियाका क्रममा विद्यार्थीले प्रदेश सरकारका विकास निर्माण तथा जनसरोकारका विषयमा समेत जिज्ञासा राखेका थिए। मन्त्री समीरले विद्यार्थीले उठाएका सवाललाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा युवापुस्तासँग प्रत्यक्ष संवाद र अन्तरक्रियालाई निरन्तरता दिनुपर्ने बताए।
भेटघाटका क्रममा ज्ञान सरोबर इङ्ग्लिस स्कुलका प्रधानाध्यापक श्याम केसरीसहित विद्यार्थीले मन्त्री समीरलाई मायाको चिनो प्रदान गर्दै खादा लगाएर सम्मान गरेका थिए। सम्मान तथा स्वागतका लागि प्रधानाध्यापक केसरीसहित विद्यालय परिवारलाई मन्त्री समीरले धन्यवाद व्यक्त गरे।



