मधेशसमाचार

गौरमा निर्मित सुविधासम्पन्न सामुदायिक विवाह भवनको भव्य उद्घाटन: विपन्न र मध्यमवर्गीय परिवारलाई ठूलो आर्थिक राहत पुग्ने नगर प्रमुख साहको दाबी

​गौरमा निर्मित सुविधासम्पन्न सामुदायिक विवाह भवनको भव्य उद्घाटन: विपन्न र मध्यमवर्गीय परिवारलाई ठूलो आर्थिक राहत पुग्ने नगर प्रमुख साहको दाबी

सत्येन्द्र प्रताप सिंह

​रौतहट, ०७ भदौ

जिल्लाको सदरमुकाम गौर स्थित वडा नं. २ महादेवपट्टी (भगवती स्थान नजिक) नव निर्मित गौर सामुदायिक विवाह भवनको एक भव्य समारोहका बीच औपचारिक उद्घाटन गरिएको छ। २०७९ साल मंसिर २९ गते करिब २ करोड रुपैयाँको लागत अनुमानसहित शिलान्यास गरिएको उक्त भवनको निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएपछि २०८३ साल भाद्र ७ गते आइतबार आयोजित विशेष समारोहमा गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले फिता काटेर भवनको समुद्घाटन गरेका छन् ।
​स्थानिय वडाध्यक्ष ज्येष्ठ नागरिक, बुद्धिजीवी, समाजसेवी, नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागितामा सम्पन्न उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख साहले गौर नगरपालिकाको समग्र विकास रणनीति र वर्तमान नेतृत्वको मूल ध्येयबारे स्पष्ट पारे । उनले सबैको साथ, सबैको विकास, गरीबदेखि धनीसम्मको सम्मान’ भन्ने आफ्नो मूल राजनीतिक तथा सामाजिक मान्यतालाई पुन दोहोर्‍याउँदै राज्य तथा स्थानीय तहका सार्वजनिक संरचनाहरू सर्वसाधारणको सहज र समतामूलक पहुँचमा हुनुपर्नेमा विशेष जोड दिए ।
​कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नगर प्रमुख साहले नव निर्मित विवाह भवन सञ्चालनमा आएपछि नगरभित्रका गरीब, विपन्न तथा मध्यमवर्गीय परिवारले आफ्ना छोराछोरीको विवाह, व्रतबन्ध, मुण्डन तथा अन्य सामाजिक–सांस्कृतिक काज-प्रयोजनहरू सुलभ र मर्यादित रूपमा सम्पन्न गर्न सक्ने बताए ।
​सामुदायिक स्तरमा निर्माण भएको यो संरचना नै वास्तविक अर्थमा समावेशी र जनमुखी विकासको नमूना हो, प्रमुख साहले भन्नुभयो, जहाँ आर्थिक रूपमा विपन्न नागरिकले ठूलो आर्थिक बोझ, क्रणको ऋणभार र सास्ती भोग्नुपर्ने बाध्यताबिना नै आफ्ना पारिवारिक तथा मांगलिक उत्सवहरू गौरवका साथ मनाउन पाउनेछन् ।
​आफ्नो कार्यकालको समीक्षा गर्दै नगर प्रमुख साहले आफू कुनै व्यक्ति विशेष वा सीमित स्वार्थ समूहको निजी फाइदाका लागि काम नगर्ने स्पष्ट पारे । स्थानीय तहमा भइरहेका सकारात्मक र परिणाममुखी विकासका प्रयासहरूलाई अर्थहीन र निराधार भनेर भ्रम फैलाउने तत्त्वहरूप्रति कडा टिप्पणी गर्दै उनले थपे , समाजका केही स्वार्थी र विकासविरोधी व्यक्तिहरूले यस्ता जनपक्षीय योजनाहरूलाई अर्थहीन ठान्ने र गरीब–निमुखा जनतालाई सधैं अन्योल तथा अन्धकारमा राख्ने कुत्सित प्रयास गरिरहेका छन्। तर म बनावटी आश्वासन, सस्तो लोकप्रियता वा घमण्डले होइन, निष्ठा, पारदर्शिता र कर्तव्यबोधका साथ काम गरेर देखाउन चाहन्छु ।
​नगर प्रमुख साहले पूर्ववर्ती नेतृत्वका काम-कारबाही र आफ्नो वर्तमान कार्यकालमा भएका भौतिक तथा सामाजिक पूर्वाधारका उपलब्धिहरू गौरवासी सामु छर्लङ्ग रहेको उल्लेख गरे । पूर्वाधार निर्माण, नागरिक सेवा प्रवाह तथा प्रशासनिक सुशासनका क्षेत्रमा गौर नगरपालिकाले उल्लेख्य फड्को मारेको दाबी गर्दै उनले सर्वसाधारण जनता नै अन्तिम निर्णायक भएको र उनीहरूले नै विगत र वर्तमानको विकासको वस्तुनिष्ठ तुलना गर्ने बताए ।
​सामुदायिक विवाह भवन निर्माण भई विधिवत् रूपमा सञ्चालनमा आएपछि अब स्थानीय तहमा धार्मिक तथा सामाजिक उत्सवका लागि महँगा निजी पार्टी प्यालेसहरू भाडामा लिनुपर्ने वा उपयुक्त स्थानको अभावमा सास्ती खेप्नुपर्ने बाध्यताको अन्त्य भएको छ। कार्यक्रममा उपस्थित स्थानीय बुद्धिजीवी तथा ज्येष्ठ नागरिकहरूले नगर नेतृत्वको यो पहलकदमीको मुक्तकण्ठले सराहना गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button