
सत्येन्द्र प्रताप सिंह
रौतहट, ०४ भदौ
जिल्लाको मध्यभागमा रहेको व्यापारिक तथा प्रशासनिक केन्द्र मानिने गरुडा नगरपालिकाको १५औँ नगरसभा तथा १०औँ बजेट अधिवेशन शुक्रबार भव्य तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा आयोजित विशेष समारोहका बीच आगामी आर्थिक वर्षका लागि कुल ८५ करोड ३७ लाख ८५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिएको हो।
नगर प्रमुख कन्थमनी प्रसाद जयसवालको अध्यक्षतामा सम्पन्न उक्त नगरसभामा नगरपालिकाका सबै वडाका अध्यक्षहरू, नगरसभा सदस्यहरू, कार्यपालिका सदस्यहरू तथा जनप्रतिनिधिहरूको पूर्ण बहुमत र सक्रिय सहभागिता रहेको थियो।
नगरसभामा बजेट प्रस्तुत गर्दै नगर प्रमुख जयसवालले विनियोजित बजेटले नगर क्षेत्रको समग्र विकास, पूर्वाधार निर्माण, सुशासनको प्रवर्द्धन तथा आम नगरवासीको जीवनस्तर उकास्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
नगरपालिकाले सार्वजनिक गरेको बजेटमा खासगरी नगर क्षेत्रको भौतिक पूर्वाधार, सडक सञ्जाल विस्तार, शिक्षा, स्वास्थ्य, कृषि तथा खानेपानीलाई उच्च प्राथमिकतामा राखिएको छ। यसका साथै सरसफाइ व्यवस्थापन, सामाजिक सुरक्षा तथा सर्वसाधारणका लागि प्रभावकारी एवं पारदर्शी सेवा प्रवाह सुनिश्चित गर्न आवश्यक लरकम विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ।
नगर प्रमुख जयसवालका अनुसार गरुडालाई समृद्ध र व्यवस्थित शहरको रूपमा रूपान्तरण गर्न नगरभित्रका मुख्य तथा सहायक मार्गहरूको स्तरोन्नति, कृषि प्रणालीको आधुनिकीकरण र स्वास्थ्य क्षेत्रको पहुँच विस्तारमा विशेष ध्यान दिइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख जयसवालले बजेट कागजी दस्तावेज मात्र नभई नगरवासीको विकास र समृद्धिको आकाङ्क्षासँग जोडिएको विषय भएको बताए। बजेटको सफल तथा पारदर्शी कार्यान्वयनका लागि स्थानीय जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नगरवासीको ऐक्यबद्धता एवं सहकार्य अपरिहार्य रहने उनले स्पष्ट पारे।
अधिवेशनमा सहभागी वडा अध्यक्ष तथा जनप्रतिनिधिहरूले समेत नगरको सन्तुलित र न्यायोचित विकासका लागि ल्याइएको बजेटको प्रभावकारी कार्यान्वयनमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । कार्यक्रममा स्थानीय सुरक्षा निकायका प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।



