मधेशसमाचार

सल्हेस बाबा मेलामा नेपाल–भारतका पहलवानबीच रोमाञ्चक कुस्ती

उपेन्द्र पासवान
बारा, ०५ भदौ
जीतपुरसिमरा उपमहानगरपालिका–८ र ९ अन्तर्गत ईमिलिप्रति–छातापिप्रा–राजानगर टोलमा पासवान समुदायको परम्परा र धार्मिक आस्थासँग जोडिएको श्री सल्हेस बाबा मेला २०८३ विविध धार्मिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।
पासवान समुदायका पुर्खाहरूले पुस्तौँदेखि प्रत्येक वर्ष श्रावण महिनाको अन्तिम हप्तामा सल्हेस बाबाको पूजा–आराधना गरी मेला आयोजना गर्दै आएका छन्। सोही परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि स्थानीय श्रद्धालु भक्तजन तथा विभिन्न स्थानबाट आएका सर्वसाधारणको उल्लेख्य सहभागिताबीच मेला आयोजना गरिएको हो।
श्री सल्हेस बाबा मेला समिति वडा नं. ८ र ९ को आयोजनामा सम्पन्न मेलाको अध्यक्षता मेला समितिका अध्यक्ष राजदेव पासवानले गर्नुभएको थियो। कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका–८ का वडा अध्यक्ष शिवशंकर प्रसाद कुशवाहा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
मेलामा वडा नं. ९ का वडा अध्यक्ष मोतिलाल यादव, वडा नं. ८ का निवर्तमान वडा अध्यक्ष रामबाबु पटेल, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्रप्रसाद गुप्ता, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति सुरेश केसी, नेपाली कांग्रेसका नगर सभापति छविलाल शर्मा लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। मेला समितिका विवेक पासवान, समाजसेवी मुन्सी पासवान लगायत स्थानीय समाजसेवी तथा अगुवाहरूको समेत सहभागिता रहेको थियो।
नेपाल–भारतका पहलवानबीच रोमाञ्चक भिडन्त
मेलाको मुख्य आकर्षणका रूपमा आयोजना गरिएको नेपाल र भारतका पहलवानबीचको कुस्ती प्रतियोगिताले दर्शकको ध्यान खिचेको थियो। कुस्ती हेर्न ठूलो संख्यामा दर्शक उपस्थित भएका थिए। नेपाली तथा भारतीय पहलवानबीचको रोमाञ्चक प्रतिस्पर्धाले मेलास्थलमा उत्साह र रौनक थपेको थियो।
कुस्ती प्रतियोगितासँगै मेलामा विभिन्न खेल–तमासा, झुला, नाचगान तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो। धार्मिक आस्था, परम्परा र मनोरञ्जनलाई एकैसाथ समेटिएको मेलाले स्थानीय तथा बाह्य आगन्तुकलाई आकर्षित गरेको थियो।
कार्यक्रममा मेला समितिका उपाध्यक्ष श्याम पासवानले अतिथि, श्रद्धालु तथा भक्तजनलाई स्वागत गर्दै खादा तथा माला लगाएर सम्मान गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सुनिल पासवानले गर्नुभएको थियो।
स्थानीय बासिन्दाका अनुसार सल्हेस बाबा मेला धार्मिक आस्थाको पर्व मात्र नभई पासवान समुदायको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक पहिचानसँग जोडिएको महत्वपूर्ण परम्परा हो। पुस्तौँदेखि चलिआएको यस परम्परालाई संरक्षण गर्दै आगामी वर्षहरूमा मेलालाई थप व्यवस्थित, सुरक्षित र भव्य बनाउने आयोजकहरूले बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button