
बारा, ०७ भदौ
बाराको कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिका बिन्दी कुमारी मण्डल सकुशल फेला परेकी छन्।
मुकेश कुमार मण्डलकी छोरी बिन्दी शुक्रबार साँझ करिब ५ः३० बजेदेखि आफ्नै घरअगाडिबाट हराएकी थिइन्। बालिका हराएको जानकारी उनका हजुरबुबा मदन मण्डलले राति ८ः४५ बजे अस्थायी प्रहरी पोस्ट बसपार्क बारामा गराएपछि प्रहरीले तत्काल खोजी सुरु गरेको थियो।
प्रहरीका अनुसार बालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालय बारा, नेपाल प्रहरीको प्रदेश कार्यालय वीरगन्ज, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो। खोजी कार्यमा तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिएको थियो।
लगातारको खोजीपछि बालिका शनिबार बिहान करिब ५ः४५ बजे कलैया उपमहानगरपालिका–२६ स्थितमा स्थानीय सल्मा नेसाले फेला पारेकी थिइन्। उनले बालिकाका आफन्तलाई जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले बालिकालाई सकुशल उद्धार गरी स्वास्थ्य परीक्षणका लागि आफन्तको साथमा प्रादेशिक अस्पताल कलैया लगेको जनाएको छ। अस्पतालमा गरिएको प्रारम्भिक स्वास्थ्य परीक्षणपछि बालिकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बालिका फेला परेको स्थान उनको घरबाट करिब एक किलोमिटर उत्तरतर्फ पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



