
कलैया , ०७ भदौ
नयाँ सरकार गठनपछि सरकारी निकायमा रहेका सवारी साधनको विवरण संकलन गरी आवश्यकताअनुसार व्यवस्थापन गर्न दिइएको निर्देशनअनुसार कलैया उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका सम्पूर्ण सवारी साधन कार्यालयमा फिर्ता गराएको थियो। तर सवारी साधन पुनः वितरणका लागि कार्यविधि नै पारित गरिसक्दा पनि फिल्डमा खटिने कतिपय कर्मचारी भने अझै सवारी साधनविहीन छन्।
कलैया उपमहानगरपालिकाले सवारी साधनसम्बन्धी कार्यविधि पारित गरी शाखा प्रमुख तथा फिल्डमा नियमित रूपमा खटिने कर्मचारीलाई कार्य प्रकृतिका आधारमा सवारी साधन उपलब्ध गराउने व्यवस्था गरेको छ। तर कार्यविधिको व्यवस्था व्यवहारमा कार्यान्वयन हुन नसकेको कर्मचारीहरूको गुनासो छ।
योजना शाखा प्रमुख पूजा यादव तथा स्वास्थ्य शाखाअन्तर्गत फिल्डमा खटिने मनोज यादव लगायतका कर्मचारीले हालसम्म उपमहानगरपालिकाबाट आवश्यकताअनुसार सवारी साधन पाउन सकेका छैनन्। उनीहरूले लामो समयदेखि प्रयोग गर्दै आएका सवारी साधनसमेत जीर्ण अवस्थामा पुगिसकेको बताइएको छ। यस्तो अवस्थामा फिल्ड अनुगमन, योजना कार्यान्वयन तथा स्वास्थ्यसम्बन्धी सेवाको प्रभावकारितामै असर पर्ने देखिएको छ।
सवारी साधन पुनः वितरणका लागि स्पष्ट कार्यविधि बनिसकेको अवस्थामा पनि कार्यविधिमा तोकिएको प्राथमिकताअनुसार सवारी साधन उपलब्ध नगराइनु आफैंमा प्रश्न उठाउने विषय बनेको छ। कार्यालयका स्रोतसाधन आवश्यकताका आधारमा पारदर्शी ढंगले वितरण गर्नुपर्नेमा पहुँच र प्राथमिकताका आधारमा विभेद भइरहेको हो कि भन्ने प्रश्नसमेत उठेको छ।
यस विषयमा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेशलाल कंडेलले कर्मचारीलाई आवश्यकताका आधारमा सवारी साधन उपलब्ध गराइने बताए। उनले बाँकी विषयमा कार्यालयमै आएर कुराकानी गर्न आग्रह गर्दै फोनमा धेरै कुरा गर्न नहुने प्रतिक्रिया दिए।
कार्यविधि पारित गरिसकेपछि पनि त्यसको मर्मअनुसार सवारी साधन वितरण हुन नसक्नुले उपमहानगरपालिकाको प्रशासनिक निर्णय र कार्यान्वयनबीचको दूरीसमेत उजागर गरेको छ। फिल्डमा खटिने कर्मचारीलाई जीर्ण सवारी साधनको भरमा काम गराउने तर कार्यालयमा सवारी साधन वितरणसम्बन्धी कार्यविधि बनाइरहने प्रवृत्तिले कार्यविधिको औचित्यमाथि नै प्रश्न खडा गरेको छ।
उपमहानगरपालिकाले तत्काल कार्यविधिअनुसार सवारी साधनको आवश्यकता र प्राथमिकता निर्धारण गरी सम्बन्धित शाखा तथा फिल्ड कर्मचारीलाई साधन उपलब्ध गराउनुपर्ने माग कर्मचारीस्तरबाट उठ्न थालेको छ।



