
उपेन्द्र पासवान
बारा, ०८ भदौ
देवताल गाउँपालिकाको अध्यक्ष पदका प्रत्यासी रामचन्द्र चौधरीले आफूका लागि राजनीतिक पदभन्दा जनसेवा महत्वपूर्ण रहेको बताएका छन्। पदमा रहेर मात्र जनताको सेवा गर्नुपर्छ भन्ने मान्यताभन्दा बाहिर रहेर आफूले विगतदेखि नै जनताको सुख–दुःखमा साथ दिँदै आएको उनको दाबी छ।
चौधरीले विकास निर्माण, शिक्षा, स्वास्थ्य, विद्युत् विस्तार, खेलकुद, महिला सशक्तीकरण, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा सामाजिक सद्भावका क्षेत्रमा आफूले निरन्तर पहल गर्दै आएको बताएका छन्। विगतका कामलाई व्यक्तिगत लाभ वा प्रचारभन्दा समाज र जनताप्रतिको जिम्मेवारीका रूपमा लिएको उनको भनाइ छ।
उनका अनुसार वि.सं. २०५८ मा तत्कालीन शाही शासनको विरोध गर्दै लोकतन्त्र र जनअधिकारका पक्षमा उभिँदा प्रहरीको कुटपिट र २४ घण्टे हिरासत भोगेका थिए। त्यसपछि २०६२/०६३ को जनआन्दोलनमा समेत सक्रिय सहभागिता जनाएको उनले बताएका छन्।
स्थानीय विकासतर्फ चौधरीले आ.व. २०६५/०६६ मा पिप्राढी पोखरीनजिक १०० केभीए ट्रान्सफर्मर जडान तथा मूल नहरदेखि ११ हजार भोल्टको तार विस्तार गरी विद्युत् सेवा सञ्चालनमा पहल गरेको दाबी गरेका छन्। आ.व. २०६७/०६८ मा धुरहामा १०० केभीए ट्रान्सफर्मर जडानका लागि सम्बन्धित निकायसँग समन्वय गरी विद्युत् विस्तारमा भूमिका खेलेको पनि उनले बताएका छन्।
वि.सं. २०७० मा बारा जिल्ला स्थानीय शान्ति समितिको प्रतिनिधिका रूपमा शान्ति, सद्भाव र सामाजिक सहकार्यमा भूमिका निर्वाह गरेको तथा २०७१ मा नेतृत्व विकाससम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारमा थाइल्याण्ड पुगेर ४२ देशका सहभागीबीच सहभागिता जनाएको चौधरीको भनाइ छ।
खेलकुद तथा युवाको क्षेत्रमा पनि आफूले योगदान गरेको उल्लेख गर्दै उनले आ.व. २०७१/०७२ र २०७२/०७३ मा खेलकुद विकास समितिको सदस्य रहँदा धुरहा प्रावि तथा पिप्राढी–बेनौली माध्यमिक विद्यालयमा खेलकुद प्रतियोगिता सञ्चालन गरी स्थानीय युवाको प्रतिभा विकासमा पहल गरेको बताए।
स्वास्थ्य क्षेत्रमा रौवाही स्वास्थ्य चौकीको पहिलो तल्ला निर्माणका लागि पहल गर्नुका साथै तत्कालीन पिप्राढी गाविस भवनको माथिल्लो तल्ला निर्माणका लागि महिला विकास कार्यालयबाट सहयोग जुटाउन समन्वय गरेको उनले बताए। महिला सशक्तीकरणका कार्यक्रम अघि बढाउन पनि आफ्नो भूमिका रहेको उनको दाबी छ।
वि.सं. २०७२ को मधेश तथा थरुहट आन्दोलनमा सक्रिय सहभागिता जनाएको र सोही वर्षको भूकम्पपछि रसुवा र तनहुँमा १० दिनसम्म श्रमदान गरी प्रभावित नागरिकको पुनःनिर्माण तथा सहयोगमा सहभागी भएको चौधरीले बताएका छन्।
आ.व. २०७४/०७५ मा धुरहा जाने नहरमा पाँच तथा गिरीजीको फर्म जाने बाटोमा तीन विद्युत् पोल जडानका लागि पहल गरेको उनको भनाइ छ। वि.सं. २०७४ को बाढीका क्रममा रम्पुर्वा, जबका, रौवाही, बेनौली तथा पिपरपातीका करिब ५० परिवारलाई खाद्यान्न तथा राहत सामग्री उपलब्ध गराएको उनले बताए।
वि.सं. २०७६ को हावाहुरीबाट प्रभावित रम्पुर्वाका घाइते तथा पीडित परिवारलाई खाद्यान्न र आवश्यक सामग्री वितरण गरेको तथा सोही वर्ष गढीमाई पञ्चवर्षीय मेलामा बाहिरबाट आएका श्रद्धालु तथा आगन्तुकका लागि दुई दिनसम्म निःशुल्क नास्ता तथा खाजाको व्यवस्था गरेको चौधरीको दाबी छ।
कोभिड–१९ महामारी तथा लकडाउनका समयमा मास्क, सेनिटाइजरलगायत स्वास्थ्य सामग्री वितरण गर्नुका साथै जनचेतना अभियानमा सक्रिय रहेको उनले बताए। आ.व. २०७७/०७८ मा पिप्राढी, धुरहा तथा रौवाही क्षेत्रमा पटक–पटक बिरुवा वितरण गरी वातावरण संरक्षणमा समेत योगदान गरेको उनको भनाइ छ।
विपन्न तथा असहाय परिवारका लागि विभिन्न समयमा खाद्यान्न तथा आवश्यक सामग्री वितरण गरेको चौधरीले बताएका छन्। उनका अनुसार पिप्राढी, धुरहा, कैलनवा, बडकी झिटकैयाँ, अमुवा सानो, अमुवा ठूलो, कठहरिया, रौवाही, जबका, बारहवा, रम्पुर्वा, पिपरपाती, फुलवरिया, देवापुर चौक र छोटकी झिटकैयाँलगायतका क्षेत्रमा चामल, आँटा, दाल, तेल, नुन र साबुन वितरण गरिएको थियो। करिब ३०० थान ब्ल्याङ्केटसमेत वितरण गरेको उनले बताए।
शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको चौधरीको भनाइ छ। उनका अनुसार प्रावि रम्पुर्वाका २२७ र मावि रौवाहीका ६५० गरी ८७७ विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराइएको थियो।
तेलुकवा–७ स्थित पिप्राढी माध्यमिक विद्यालयमा देखिएको विभेद तथा असमानता हटाउन पहल गरेको र पिप्राढी समाजको तर्फबाट सर्वोच्च अदालतमा निवेदकका रूपमा भूमिका निर्वाह गरेको पनि उनले बताए।
अग्रज तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यलाई समेत निरन्तरता दिएको चौधरीले बताएका छन्। अवकाशप्राप्त शिक्षक, किसान, बुद्धिजीवी, समाजसेवी तथा राजनीतिकर्मीलाई सम्मान गर्दै उनीहरूकै हातबाट ७० विपन्न परिवारलाई २५/२५ किलो चामल वितरण गराएको उनको भनाइ छ।
धर्म, संस्कृति र सामाजिक सद्भावलाई आफ्नो सामाजिक अभियानको महत्वपूर्ण पक्षका रूपमा लिएको चौधरीले बताएका छन्। दशैं, दीपावली, छठ र होलीलगायत पर्वमा विभिन्न समुदायका नागरिक, बुद्धिजीवी, समाजसेवी, राजनीतिकर्मी, शिक्षक तथा कर्मचारीसँग सहकार्य गर्दै सामाजिक एकता र आपसी सद्भाव कायम गर्न भूमिका खेलेको उनले उल्लेख गरेका छन्।
चौधरीले आफ्नो सामाजिक यात्रामा पूर्व सभापति स्व. विश्वनाथ सिंह, पूर्व इलाका सदस्य स्व. हरिशंकर यादव, पूर्व गाविस मुखिया स्व. कृतबहादुर साह, पूर्व गाविस उपाध्यक्ष स्व. सकलराम, नेता स्व. कृष्णकुमार सिंह, पूर्व सभापति प्रयाग राय तथा पूर्व जिल्ला समन्वय समिति प्रमुख नवलकिशोर सिंहलगायत अग्रज व्यक्तित्वबाट प्रेरणा लिएको बताएका छन्।
“यी मेरा कामहरूको पूर्ण सूची होइनन्, विगतदेखि जनताको आवश्यकता र समाजको हितमा मैले गरेको पहलका केही प्रतिनिधिमूलक विवरण मात्र हुन्,” चौधरीले भने।
पद अस्थायी भए पनि जनताको विश्वास र सेवाबाट बनेको सम्बन्ध दीर्घकालीन हुने धारणा व्यक्त गर्दै उनले जनताको सुख–दुःखमा साथ दिने प्रतिबद्धता दोहोर्याएका छन्।
“जनताको आवश्यकता जहाँ हुन्छ, मेरो पहल त्यहीँ हुनेछ। पदमा रहे पनि र नरहे पनि जनताको सेवा गर्ने मेरो प्रयास निरन्तर रहनेछ,” अध्यक्ष पदका प्रत्यासी चौधरीले बताए।



