मधेशसमाचार

मोहम्मद जयन्तीमा कलैया, महागढीमाई र सिम्रौनगढका विद्यालय बन्द

बारा, १० भदौ

मोहम्मद जयन्तीको अवसरमा बाराका कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका र सिम्रौनगढ क्षेत्रमा बुधबार एक दिन विद्यालय बन्द रहने भएको छ।
कलैया उपमहानगरपालिकाको शिक्षा शाखाले नगर प्रमुखस्तरीय निर्णयअनुसार आज बुधबार नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द रहने जनाएको छ। शिक्षा शाखा प्रमुख राजीवकुमार यादवद्वारा जारी सूचनामा मोहम्मद जयन्तीका अवसरमा एक दिन विद्यालयमा बिदा दिने उल्लेख छ।
त्यसैगरी महागढीमाई नगरपालिकाले पनि आज विद्यालयसहित सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज रिजालद्वारा जारी सूचनामा मोहम्मद जयन्तीका अवसरमा बिदा दिइएको जनाइएको छ।
सिम्रौनगढ क्षेत्रमा समेत मोहम्मद जयन्तीका अवसरमा आज सार्वजनिक बिदा रहने भएको छ। स्थानीय तह तथा सम्बन्धित निकायले जारी गरेको सूचनाअनुसार विद्यालय तथा सार्वजनिक सेवामा बिदा रहने जनाइएको छ।
मधेस प्रदेश सरकारले पनि मोहम्मद जयन्तीका अवसरमा मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित व्यवस्थाबमोजिम आज मुस्लिम धर्मावलम्बीका लागि बिदा दिइएको जनाएको छ।
नेपाल सरकारले समेत मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार आज मोहम्मद जयन्ती परेको जनाउँदै मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा हुने स्पष्ट पारेको छ।
मोहम्मद जयन्ती इस्लाम धर्मावलम्बीले पैगम्बर हजरत मोहम्मदको जन्मदिनका रूपमा धार्मिक श्रद्धा र आस्थाका साथ मनाउने महत्वपूर्ण पर्व हो। यस अवसरमा मुस्लिम समुदायले प्रार्थना, धार्मिक तथा सांस्कृतिक कार्यक्रम र शुभकामना आदानप्रदानलगायतका गतिविधि गर्ने गर्छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button