मधेशसमाचार

प्रजिअ मिश्रको पहलमा हराएकी बालिका सुरक्षित फेला

बारा, १० भदौ
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ सिदरियाकी ११ वर्षीया सनाया खातुन सुरक्षित अवस्थामा फेला परेकी छन्। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा जिल्ला सुरक्षा समितिको टोली र इलाका प्रहरी कार्यालय सिमराको सक्रियतामा खोजी गर्दा बालिका वीरगंज स्थित एक बालगृहमा सुरक्षित रहेको पत्ता लागेको हो।
बालिका जेठ १७ गतेदेखि परिवारको सम्पर्कमा नरहेको भन्दै उनकी आमा गुलाब्सा खातुनले भदौ ९ गते इलाका प्रहरी कार्यालय सिमरामा खोजतलासका लागि निवेदन दिएकी थिइन्।
निवेदनपछि प्रजिअ मिश्रको नेतृत्वमा सुरक्षा समितिका पदाधिकारी तथा प्रहरी टोलीले बालिकाको घरमा पुगेर परिवार र स्थानीय जनप्रतिनिधिसँग सोधपुछ गर्दै खोजी अघि बढाएको थियो। खोजीका क्रममा बालिका बालगृहमा सुरक्षित रहेको जानकारी पाएपछि प्रजिअ मिश्रसहितको टोली र उनकी आमा बालगृह पुगेर बालिकासँग भेट गरेका थिए।
बालिका आमाको सहमतिमा उक्त बालगृहमा रहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। यसअघि पनि बालिका फागुन र वैशाखमा हराएको भन्दै खोजतलासका लागि निवेदन परेको थियो। फागुनमा इलाका प्रहरी कार्यालय सिमराले र वैशाखमा पर्साको वडा प्रहरी कार्यालय श्रीपुरले बालिकालाई फेला पारी आमाको जिम्मा लगाएको थियो।
बालिकाको खोजीमा तत्काल पहल गरी सुरक्षित अवस्थामा फेला पार्न नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै स्थानीयले प्रमुख जिल्ला अधिकारी मिश्रको सक्रियताको प्रशंसा गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button