
बारा, १० भदौ
बाराका १६ स्थानीय तहमध्ये प्रसौनी, परवानीपुर, विश्रामपुर र करैयामाई गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि खाता सञ्चालन गरेका छन्। कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) बाराका प्रमुख राधेश्याम गिरीका अनुसार फेटा, सुवर्ण, महागढीमाई र पचरौता पनि खाता सञ्चालनको प्रक्रियामा छन्।
प्रक्रियामा रहेका स्थानीय तहको समेत यही हप्ताभित्र खाता सञ्चालन हुने गिरीले जानकारी दिए। आर्थिक वर्षको अन्त्यसँगै असार २५ गते स्थानीय तहका खाता बन्द भएपछि अघिल्लो आर्थिक वर्षको आय–व्यय तथा लेखा विवरण मिलान गरी नयाँ आर्थिक वर्षका लागि खाता सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ।
तर नयाँ आर्थिक वर्ष सुरु भएको लामो समय बितिसक्दा पनि बाराका धेरै स्थानीय तहले खाता सञ्चालनको आवश्यक प्रक्रिया पूरा नगरेको देखिएको छ। कोलेनिका प्रमुख गिरीका अनुसार स्थानीय तहले आवश्यक कागजात तथा प्रक्रिया पूरा गरी कार्यालयमा सम्पर्क गरेपछि खाता सञ्चालन गरिँदै आएको छ।
बारामा दुई उपमहानगरपालिका, पाँच नगरपालिका र नौ गाउँपालिका गरी १६ स्थानीय तह छन्। अधिकांश पालिकाले चालु आर्थिक वर्षको बजेट पारित गरिसके पनि बजेट कार्यान्वयनका लागि आवश्यक वित्तीय खाता सञ्चालनमा ढिलाइ हुँदा आर्थिक कारोबार प्रभावित हुने जोखिम देखिएको छ।
खाता सञ्चालन भएपछि मात्रै स्वीकृत बजेटअनुसार नियमित भुक्तानी, विकास निर्माणका योजना, कार्यक्रम सञ्चालन तथा अन्य वित्तीय कारोबार अघि बढाउन सकिन्छ। खाता सञ्चालनमा ढिलाइ हुँदा योजना तथा कार्यक्रम कार्यान्वयन, सेवा प्रवाह र भुक्तानी प्रक्रियासमेत प्रभावित हुन सक्ने जानकारहरू बताउँछन्।
स्थानीय तहले आर्थिक वर्षको सुरुवातमै अघिल्लो वर्षको हिसाब मिलान तथा नयाँ आर्थिक वर्षका लागि आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने भए पनि यसतर्फ पर्याप्त तत्परता नदेखिएको हो। यसले स्थानीय तहको वित्तीय तयारी तथा व्यवस्थापन क्षमतामाथि प्रश्न उठाएको छ।
कोलेनिका बाराले भने सम्बन्धित स्थानीय तहले आवश्यक प्रक्रिया पूरा गरी सम्पर्क गरेपछि प्रचलित कानुन र व्यवस्थाअनुसार खाता सञ्चालन गरिने जनाएको छ। प्रक्रियामा रहेका पालिकाहरूको खाता यही हप्ताभित्र सञ्चालन हुने गिरीको भनाइ छ।
नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि वित्तीय खाता सञ्चालन अनिवार्य भएकाले बाँकी स्थानीय तहले समेत ढिलाइ नगरी प्रक्रिया पूरा गर्नुपर्ने देखिएको छ।



