
रौतहटमा प्रहरीकै सेटिङमा ४२ किमी अवैध मदिरा तस्करी, सशस्त्र प्रहरीद्वारा १५० लिटर बरामद
सत्येन्द्र प्रताप सिंह
कार्तिक ५ रौतहट
जिल्लाको उत्तरी भेग चन्द्रपुरबाट उत्पादित घरेलु अवैध मदिरा प्रहरीकै युनिटहरूलाई मासिक रूपमा रकम बुझाएर सदरमुकाम गौरसम्म निर्वाध रूपमा तस्करी हुने गरेको खुलासा भएको छ। स्थानीय प्रहरी प्रशासनको मौन सहमति र मासिक रकम महिनाको चलखेलमा ४२ किलोमिटर टाढा रहेको गौरसम्म यात्रुवाहक बसमार्फत अवैध मदिरा पुर्याइने गरेको पाइएको हो।

चन्द्रपुरबाट सुरु हुने यो अवैध धन्दा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, सन्तपुर प्रहरी चौकी, सन्तपुर बेस क्याम्प, इलाका प्रहरी कार्यालय डुमरिया, हर्साहा प्रहरी चौकी, बिर्ता प्रहरी चौकी, इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय शिवनगर, दुधिअवा सशस्त्र बेस क्याम्प, सशस्त्र बेसक्याम्प देवाही गोनाही, सुकदेव चोक प्रहरी तथा बमनहर प्रहरी चौकी लगायत दर्जन बढी सुरक्षा बिटहरू हुँदै अगाडि बढ्छ। तर यतिका धेरै प्रहरी चेकपोष्टहरू पार गर्दा समेत कुनै पनि स्थानमा कडा चेकजाँच नहुनुले सुरक्षा निकायको नियतमाथि गम्भीर प्रश्न उठाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले आफ्ना मातहतका युनिटहरूबाट भइरहेको यो फितलो सुरक्षा व्यवस्था र रकमको चलखेलमाथि कुनै ठोस कारबाही वा अनुगमन गरेको देखिएको छैन। आफ्नै युनिटहरूबाट खुलेआम अवैध पदार्थ ओसारपसार भइरहँदा समेत जिल्ला प्रहरी नेतृत्व मूकदर्शक बनेको आरोप स्थानीयले लगाएका छन्।
नेपाल प्रहरीले आफ्नै आँखाअगाडि भइरहेको यो अवैध धन्दा नियन्त्रण गर्न तदारुकता नदेखाए पनि सशस्त्र प्रहरीले भने गुप्त सूचनाका आधारमा कदम चालेको छ।
संचारकर्मीले दिएको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल फतुवा महेशपुरको टोलीले बिहीबार दिउँसो १२ बजेको समयमा बमनहर स्थित क्षेत्रबाट १५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीको बमनहरस्थित टोलीले सवारी साधनमा राखेर सदरमुकाम लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको मदिरा बरामद गरेको हो।
चन्द्रपुर क्षेत्रमा उत्पादन हुने अवैध मदिरालाई सार्वजनिक बसमा राखी निर्धक्कसँग मुख्य राजमार्ग र सहायक मार्गहरू प्रयोग गरी ४२ किलोमिटरसम्म पुर्याउनुले प्रहरीको प्रत्येक युनिटसँग मदिरा व्यवसायी र तस्करहरूको मासिक दररेट तय भएको स्थानीयको दाबी छ।
सशस्त्र प्रहरीको यो कदमले एकातिर अवैध मदिरा नियन्त्रणमा सफलता मिलेको छ भने अर्कोतिर जनपद प्रहरीका दर्जनौँ युनिटहरूको भूमिका र इमानदारितामाथि ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ। स्थानीय नागरिकहरूले यसरी प्रहरीकै संरक्षणमा हुने अवैध धन्दाको निष्पक्ष छानबिन गरी दोषी प्रहरी कर्मचारीहरूमाथि कडा कारबाही गर्न माग गरेका छन्।



