
बारा, १० भदौ
फेटा गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलनका लागि निवेदन दिने म्याद थप गरेको छ। गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित वर्गका नागरिकलाई आवश्यक कागजातसहित आ–आफ्नो वडा कार्यालयमा निवेदन पेस गर्न आग्रह गरेको हो।
भूमि समस्या समाधान समितिको पत्रअनुसार गाउँपालिकाअन्तर्गत रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलनका लागि २१ दिनको म्याद थप गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले यसअघि पनि सम्बन्धित वर्गबाट निवेदन संकलनका लागि सूचना जारी गरेको थियो।
गाउँपालिकाका अनुसार निवेदन दिन इच्छुकले नागरिकता वा परिचयपत्रको प्रतिलिपि, वृद्ध तथा बाजे नागरिकताको प्रतिलिपि वा मृत्यु दर्ता प्रमाणपत्र, मतदाता परिचयपत्र तथा स्वघोषणा निवेदन, पारिवारिक विवरण खुल्ने प्रमाणपत्र, बिजुली बिल तथा बसोबास सिफारिस र पासपोर्ट साइजको दुई प्रति फोटो पेश गर्नुपर्नेछ।
भूमि समस्या समाधान आयोगले पनि भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने उद्देश्यले स्थानीय तहमा निवेदन तथा लगत संकलनको प्रक्रिया अघि बढाउँदै आएको छ। आयोगले यस प्रयोजनका लागि भूमिहीन दलित तथा सुकुम्बासीका लागि अनुसूची–३ र अव्यवस्थित बसोबासीका लागि अनुसूची–४ को निवेदन फारामसमेत उपलब्ध गराएको छ।
फेटा गाउँपालिकाले तोकिएको समयभित्र आवश्यक कागजातसहित वडा कार्यालयमा पुगेर निवेदन दर्ता गराउन सम्बन्धित सबैलाई आग्रह गरेको छ। गाउँपालिकाको आधिकारिक वेबसाइटमा समेत भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिने सूचना प्रकाशित गरिएको छ।



