रौतहट , २८ कार्तिक
जिल्लाको उत्तरी भेगमा रहेको चन्द्रपुर नगरपालिका ८ सन्तपुरमा कार्तिक १९ गतेदेखि सञ्चालन भइरहेको सातदिने सामाचककेवा सन्तपुर मेला जुवाजन्य गतिविधिको अखडाजस्तै बन्दै गएको छ । कार्तिक २८ गतेसम्म चल्ने भनिएको यो मेलामा लंगुर–बुर्जा, डाईस जस्ता जुवा खेलहरू खुलेआम सञ्चालन भइरहेको र प्रहरी प्रशासनले यस्ता अवैध गतिविधि नियन्त्रण गर्न नसकेको भन्दै स्थानीय बासिन्दाले गम्भीर आरोप लगाएका छन् ।
मेलास्थलमा दर्जनौँ स्थानमा जुवाका स्टलहरू रातभरि सञ्चालनमा रहने गरेको पाइएको छ । जुवा खेल्न आउने समूहहरूले रातभर रकमको लगानी उठान र हारजितका गतिविधि चलाइरहँदा मेलाको वातावरण बिग्रिएको हो ।
स्थानीय बासिन्दाको आरोप छ कि मेला स्थलमै प्रहरीको उपस्थिति भए तापनि उनीहरू जुवा नियन्त्रणमा गम्भीर देखिएका छैनन् । जुवाजन्य गतिविधि भइरहेको ठाउँमा प्रहरी गस्ती तथा चेकजाँच नदेखिने गरेको र प्रहरी मुकदर्शक बनेको उनीहरूको भनाई छ ।
मेला सञ्चालनमा प्रहरीकै मिलोमतो रहेको भन्दै स्थानीय स्रोतले थप चिन्ता व्यक्त गरेको छ । मेलामा खटिएका प्रहरी स्वयंले कमिसन खाएर जुवा खेल सञ्चालन हुन दिएको आरोप समेत जोडिएको हो ।
एक स्थानीयले आक्रोश व्यक्त गर्दै भनेका छन् :-प्रहरीकै मिलोमतोमा जुवा चल्छ, पैसा उठ्छ, अनि खेल भएको ठाउँमा दिउँसो रात प्रहरी त्यसै हेरेर हिँड्छ ।”
विशेष गरी रातको समयमा मेला स्थलमा जुवा खेल्नेहरूको भीड झन् बढी हुने गरेको छ । यिनै अवैध खेलका कारण झगडा, चोरी, विवाद तथा अन्य जोखिमहरू बढ्ने संकेत देखिएको स्थानीयले बताए ।
यसै विषयमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुङले जुवाजन्य गतिविधि रोक्ने प्रतिबद्धता जनाएका थिइन् । कुनै पनि जुवा गतिविधि सहन गरिँदैन, नियन्त्रण हुनेछ,” उनले भनेका थिइन् ।
तथापि, स्थानीयले डीएसपीको भनाई र व्यवहारमा भने फरक पाएको गुनासो गरेका छन् । मेला सुरु भएको तेस्रो दिन बितिसक्दा पनि जुवा रोकथामका लागि स्थानीय प्रहरीले कुनै ठोस कार्यान्वयन गरेको देखिएको छैन ।
प्रहरीको पातलो उपस्थितिले सुरक्षा व्यवस्था फितलो बनेको भन्दै चौतर्फी आलोचना बढ्दै गएको छ । मेला हेर्न आएका चन्द्रनिगाहपुरका एक शिक्षकले मेलामा रहेका बालबालिका, महिला र परिवारका लागि मनोरञ्जनको वातावरण कमजोर बन्दै गएको बताए।
जुवाका कारण समूहमा भीडभाड, नगदको चलखेल, मादक पदार्थ सेवनजस्ता गतिविधि बढ्न थालेपछि स्थानीय अभिभावक र व्यवसायीसमेत चिन्तित बनेका छन् । सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिने स्थानमा प्रहरी तैनाथ रहे पनि, फितलो व्यवस्थापन र जुवा रोकथामको असफलताले प्रशासनमाथि ठूलो प्रश्नचिह्न खडा गरेको छ ।
सन्तपुरमा लागिरहेको यस मेलाको सुरक्षा खटाइ, प्रहरी–व्यवस्थापन र जुवा नियन्त्रणविहीन स्थितिप्रति अहिले चौतर्फी असन्तोष बढिरहेको हो ।
स्थानीय बासिन्दाले जुवाजस्ता अवैध गतिविधिले मेलाको वास्तविक सांस्कृतिक र सामाजिक महत्व छायामा परेको भन्दै तत्काल नियमन गर्नुपर्ने आवाज तीव्र बनाएका छन् । उनीहरूले तत्काल प्रभावकारी कदम चालेर मेलालाई सुरक्षित र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय तथा उच्च प्रहरी अधिकारीहरूको ध्यानाकर्षण गराएका छन् ।