मधेशसमाचार

जग्गा किता काट खुल्नासाथ सेवाग्राहीको भिड, राजस्व संकलनमा वृद्धि हुने अनुमान

उपेन्द्र पासवान

कलैया, २८ कार्तिक

करिब चार महिनादेखि रोकिएको जग्गा किता काट (विभाजन) कार्य पुनः सुरु हुने भएको छ।

नेपाल सरकारको मन्त्रिपरिषद्ले भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ मिति कार्तिक २४ गते स्वीकृत गरेसँगै अब देशभर जग्गा किता काट कार्य पुनः संचालनमा आउने भएको हो।

भूमि सुधार तथा गरिबी निवारण मन्त्रालयका अनुसार, जस–जस स्थानीय तहहरूले अझै “कित्तागत विवरणसहितको भू–उपयोग वर्गीकरण” कार्य पूरा गरेका छैनन्, ती तहहरूले अब २०८३ असार मसान्तभित्र अनिवार्य रूपमा उक्त कार्य सम्पन्न गर्नुपर्नेछ। अन्यथा फेरि किता काट रोक्ने चेतावनी दिइएको छ।

मन्त्रालयले मिति २०८२/७/२६ मा जारी गरेको प्रेस विज्ञप्तिमार्फत यो जानकारी सार्वजनिक गरेको हो।

भूमि सुधार तथा मालपोत कार्यालय बारा, कलैयाका सूचना अधिकारी सागर कुमार साहका अनुसार, किता काट खुल्नासाथ सेवाग्राहीहरूको चाप उल्लेख्य रूपमा बढ्ने र त्यससँगै राजस्व संकलनमा पनि वृद्धि हुने सम्भावना छ।

त्यस्तै,नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन, बारा कलैयाका अध्यक्ष बृजकिशोर यादव (भगतजी)ले भने, “किता काट खुलेपछि गाउँघरमा देखिने कानुनी र सामाजिक समस्या—जस्तै औषधि उपचार, दाजुभाइबीचको अंशबण्डा, बिहेवारि सम्बन्धी विवाद—सुल्झाउन सहज हुने” बताएका छन्।

जग्गा किता काट पुनः सुरु भएपछि लामो समयदेखि रोकिएका प्रशासनिक प्रक्रिया र नागरिकका व्यक्तिगत कार्यहरूमा गतिशीलता आउने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button