कृष्णानगर बजार सरसफाइ अभियानमा अध्यक्ष रितेश शर्माको पहल,व्यापारीलाई डस्टबिन उपहार

अजय मिश्र
कपिलवस्तु, २८ कार्तिक
कपिलवस्तुको दक्षिण–पश्चिममा अवस्थित प्रमुख व्यापारिक केन्द्र कृष्णानगर बजारलाई फोहोर–मुक्त बनाउन उद्योग वाणिज्य संघ कृष्णानगरका अध्यक्ष रितेश शर्माले बजारका व्यापारीहरूलाई डस्टबिन उपहार दिएका छन्।
अध्यक्ष शर्माले “सरसफाइ हाम्रो सामूहिक दायित्व हो” भन्ने सन्देशसहित बजारका अधिकांश पसलमा डस्टबिन वितरण गर्दै व्यापारीहरूलाई पसलबाट निस्कने फोहोर उचित रूपमा व्यवस्थापन गर्न अनुरोध गरे।
उनले भने, “सफा बजार सुन्दर बजार हो, सरसफाइले न केवल बजारको आकर्षण बढाउँछ, विभिन्न किसिमका रोगबाट बच्न पनि मद्दत पुर्याउँछ।”
व्यापारीहरूले बजारमा सार्वजनिक शौचालय व्यापारीहरूका लागि निःशुल्क बनाउन माग पनि राखेका छन्।
स्थानीय व्यवसायीहरूका अनुसार, जाडोयाम सुरु भएसँगै भारतका ग्राहकहरू ज्याकेट, कसमेटिक, अन्य सामान किनमेलका लागि नेपाल आउने क्रम बढ्ने भएकाले, बजार सफा र आकर्षक बनाउने पहलले व्यापारिक वृद्धि र उपभोक्ताको सन्तुष्टि दुवैमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
नेपाल–भारतबीचको व्यापारिक सम्बन्ध सुदृढ बनाउन तथा भारतीय पर्यटकहरूको सहजताका लागि उद्योग वाणिज्य संघ कृष्णानगरले समय–समयमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, भन्सार अधिकारी, व्यापारी र जनप्रतिनिधिहरूको उपस्थितिमा अन्तरक्रिया कार्यक्रमहरू पनि गर्दै आएको छ।
बजारमा डस्टबिन वितरण गरिएको कार्यक्रमपछि व्यापारीहरूले अध्यक्ष शर्माको सफा बजार अभियानप्रति आभार व्यक्त गर्दै, यो पहल अविस्मरणीय रहने बताएका छन्।



