
रूपेश यादव
राैतहट , ०३ मंसिर
रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर १ स्थित भसेढवाकी सुष्मिता कुमारी दासले आफ्नै सासू घुनिया देवीद्वारा लगाइएका आराेपहरु झूटो र भ्रामक रहेको बताएकी छिन्।
उनले आज मंगलवारका दिन गरुडामा पत्रकार सम्मेलन गर्दै आफूविरुद्ध चलाइएको प्रचार–प्रसार पूर्णतः असत्य रहेको बताइन्।
उनले सार्वजनिक रूपमा आफूविरुद्ध फैलाइएका सबै अभिव्यक्ति असत्य र नियोजित भएको दाबी गरिन्।
केही दिनअघि सार्वजनिक एक भिडियोमा सासू घुनिया देवीले बुहारी सुष्मिता कुमारी दासले छोरा कृष्णनन्दन दासलाई छोडेर लाखौँ रुपैयाँ, जग्गा तथा गरगहना लिएर कटहरियाका वडा सदस्य सत्यलाल दाससँग भागेर विवाह गरेको आरोप लगाएकी थिए।
तर पत्रकार सम्मेलनमा सुष्मिताले ती सबै दाबीलाई गम्भीर रूपमा अस्विकार गर्दै भनिन्, “म कसैसँग भागेकी छैन, विवाह गरेको त झन् छैन। श्रीमान र ससुराली पक्षबाट निरन्तर हिंसा, यातना र धम्की पाएपछि म आफ्नै ज्यान जोगाउन घरबाट अलग बसेकी मात्र हुँ।”
सुष्मिताका अनुसार श्रीमान कृष्णनन्दन दास, सासू घुनिया देवी तथा अन्य परिवारजन मिलेर कहिले कुटपिट गर्ने, कहिले घरबाट निकाल्ने, कहिले ज्यानै मारिदिने धम्की दिने जस्ता व्यवहार दोहोर्याइइरहन्थे।
त्यही कारण आफू “असुरक्षित” महसुस गर्दै अलग डेरा लिएर बस्न बाध्य भएको उनले बताइन्।
सुष्मिताले श्रीमानसँगको दाम्पत्य सम्बन्ध टुटिसकेकाले जिल्ला अदालत गौरमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी छन्।
उनले भनिन्, “मुद्दा विचाराधीन अवस्थामा छ। यस्तो बेलामा म कसरी अरूसँग भागेर विवाह गर्न सक्छु? सासूले फैलाएको सबै प्रचार गलत छ ।
सासूले बिदेशबाट १२ लाख रुपैयाँ आएको दाबी गरे पनि सुष्मिताले श्रीमानले आफ्नो खातामा ८ लाख रुपैयाँ मात्र पठाएको, त्यो रकम पनि केही बैंकको किस्ता तिरेको र बाकी केही रकम घरायसी काममा खर्च गरेको उनले बताइन्।
सुष्मिताका अनुसार आफूलाई माइती पक्षले बिहेअघि नै चार कठ्ठा जग्गा दिएको हो। तर सासूले त्यही जग्गालाई “हाम्रो परिवारको” भन्दै झुटो भ्रम फैलाएको उनी भन्छिन्।
श्रीमानसमेत ससुराली पक्षले भुलबुझारथ गरेर मेयर, वडा अध्यक्ष वा अन्य स्थानीयलाई दोषी ठहर्याउने जालसाजी गरेको छ।
उनले स्पष्ट पारिन्, “मलाई कसैले उक्साएको होइन। श्रीमानबाट कानुनी रूपमा छुट्टिनका लागि म आफैँले निर्णय गरेकी हुँ।”
राजनीतिक रिसिबीका कारण विवाद झनै चर्किएको स्रोतको दाबी छ स्थानीय स्रोतका अनुसार भसेढवाका वडा अध्यक्ष भूपेन महतो कुशवाहा र वडा सदस्य सत्यलाल दासबीच पुरानै राजनीतिक तथा व्यक्तिगत रिसिबी रहेको बताइन्छ।
स्रोतको दाबीअनुसार, यही रिसिबी साधन वडा अध्यक्ष महतोले सुष्मिताकी सासूलाई उक्साएर सत्यलाल दासमाथि “अनैतिक सम्बन्ध” सहितको आरोप लगाउन लगाएका हुन्।
महतोले सत्यलाल दासलाई जसरी पनि फसाउने प्रयास गरिरहेको स्रोतले बताएको छ।
स्रोत अनुसार “उजुरी गराउनेदेखि लिएर कारबाही गराउनेसम्म वडा अध्यक्ष भूपेन महतोले पूरा शक्ति लगाइरहेका छन्।”



