मधेशसमाचार

रौतहटमा शीतलहरको कहर: सचेत रहन प्रशासनको विशेष अपिल

रौतहट , १० पौष

विगत केही दिनदेखि तराई-मधेसका जिल्लाहरूसँगै रौतहटमा पनि बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको छ। चिसो ह्वात्तै बढेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले एक विशेष सूचना जारी गर्दै सम्पूर्ण जिल्लाबासीलाई आवश्यक सतर्कता अपनाउन र सुरक्षाका उपायहरू अवलम्बन गर्न हार्दिक अनुरोध गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवद्वारा जारी विज्ञप्तिमा विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, सीमान्तकृत वर्ग र आर्थिक रूपमा विपन्न समुदाय शीतलहरबाट बढी प्रभावित हुन सक्ने भन्दै उनीहरूको हेरचाहमा विशेष ध्यान दिन आग्रह गरिएको हो ।

प्रशासनले नागरिकको सुरक्षाका लागि देहायका उपायहरू अपनाउन सुझाव दिएको छ:शरीर पूर्ण रूपमा ढाक्ने गरी बाक्लो र सफा लुगा लगाउन, सुत्दा न्यानो ओढ्नेको प्रयोग गर्न र टाउको तथा छातीलाई चिसोबाट जोगाउन भनिएको छ। साथै, समय-समयमा तातो पानी र पोषिलो झोलिलो पदार्थ प्रशस्त मात्रामा पिउन आग्रह गरिएको छ।

आगो र विद्युतीय उपकरणको प्रयोग: चिसोबाट बच्न आगो ताप्दा वा हिटर जस्ता विद्युतीय उपकरण प्रयोग गर्दा पर्याप्त अक्सिजन आवागमनका लागि झ्याल-ढोका खुल्ला राख्न र सुत्नुअघि अनिवार्य रूपमा आगो निभाउन सचेत गराइएको छ। ज्वरो, झाडापखाला, दम, खोकी वा श्वासप्रश्वासमा समस्या देखिएमा ढिला नगरी नजिकैको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

बाक्लो हुस्सु र कुहिरो लागेको समयमा सवारी साधन चलाउँदा गति सीमित गर्न, फग लाइट र हेडलाइटको प्रयोग गर्न तथा आवश्यक परे हर्न बजाएर दुर्घटनाबाट बच्न सवारी चालकहरूलाई आग्रह गरिएको हो ।घरपालुवा पशुपन्छीलाई खुल्ला स्थानमा नराख्न, गोठलाई न्यानो बनाउन र बिरामी परेमा तुरुन्त पशु चिकित्सकसँग परामर्श लिन भनिएको छ।

प्रशासनले स्थानीय तह, गैरसरकारी संस्था, क्लब र विद्यालयहरूलाई पनि यो कठिन समयमा सक्रिय हुन आह्वान गरेको हो । विपन्न परिवारका लागि न्यानो कपडा र दाउराको प्रबन्ध मिलाउन तथा समुदायमा सचेतना फैलाउन स्थानीय सरकार र सामाजिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने विज्ञप्तिमा उल्लेख छ।

“चिसोको कारण कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले यो सूचना जारी गरिएको हो, सहायक प्रमुख जिल्ला अधिकारी यादवले बताए। उनले चिसो वा भिजेको कपडा नलगाउन र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन समेत सबैमा अपिल गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button