मधेशसमाचार

एक साताभित्र भरी ग्याँस सिलिन्डर बजारमा पठाइने

काठमाडौं, ११ चैत

नेपाल आयल निगमले एक साताभित्र पूर्ण (भरी) एलपी ग्याँस सिलिन्डर बजारमा पठाउने तयारी गरेको छ। हाल आधा सिलिन्डर मात्र बिक्री भइरहेको अवस्थाबाट उपभोक्ताले राहत पाउने अपेक्षा गरिएको छ।

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार ग्याँस आयातमा कुनै समस्या नभए पनि उपभोक्ताले अत्यधिक सञ्चिति गर्न थालेपछि बजारमा अस्थायी अभाव देखिएको हो। “एक सातापछि भरी सिलिन्डर बजारमा पठाउने योजनासहित काम भइरहेको छ,” उनले बताए।

निगमले फागुन २९ गतेदेखि आधा सिलिन्डर मात्र बिक्री गर्न निर्देशन दिएको थियो। भट्टले उपभोक्तालाई अनावश्यक रूपमा ग्याँस सञ्चिति नगर्न आग्रह गर्दै मासिक ४६ हजार मेट्रिक टन ग्याँस खपत अनुसार नै आयात भइरहेको स्पष्ट पारे।

उनले ग्याँस आपूर्ति व्यवस्थालाई दीर्घकालीन रूपमा सहज बनाउन भण्डारण पूर्वाधार र पाइपलाइन निर्माण आवश्यक रहेको औंल्याए। हाल पाइपलाइन नहुँदा ढुवानीमै वार्षिक ६ अर्ब रुपैयाँभन्दा बढी खर्च भइरहेको उनले बताए।

नेपालसँग आफ्नै ग्याँस बुलेट नहुँदा ढुवानी लागत महँगो परेको उल्लेख गर्दै पाइपलाइन र पर्याप्त भण्डारण पूर्वाधार निर्माण भएमा ठूलो रकम बचत हुनुका साथै आपूर्ति प्रणाली पनि व्यवस्थित हुने उनले बताए।

निगमका अनुसार तीन महिनाको पेट्रोलियम पदार्थ माग धान्ने पूर्वाधार निर्माण गर्ने नीति भए पनि कार्यान्वयन भने प्रभावकारी रूपमा हुन सकेको छैन।

नेपालले भारतको मोतिहारीदेखि सर्लाहीसम्म ग्याँस पाइपलाइन तथा भण्डारण गृह निर्माणका लागि एक वर्षअघि नै भारत सरकारसमक्ष प्रस्ताव पेस गरेको भए पनि अहिलेसम्म त्यसको औपचारिक प्रतिक्रिया नआएको जनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button