मधेशसमाचार

पक्राउ परेका तेस्रोलिङ्गीको रिहाइ माग गर्दै बारामा प्रदर्शन

बारा, ०४ जेठ

कुटपिट मुद्दामा पक्राउ परेका एक जना तेस्रोलिङ्गी व्यक्तिलाई रिहा गर्न माग गर्दै सोमबार जिल्ला प्रहरी कार्यालय बारा अगाडि प्रदर्शन भएको छ। प्रदर्शनका क्रममा केही प्रदर्शनकारीले अर्धनग्न रूपमा विरोध जनाएपछि स्थिति केहीबेर तनावग्रस्त बनेको थियो।

प्रहरीका अनुसार आइतबार कुटपिट सम्बन्धी घटनामा संलग्न रहेको आरोपमा एक जना तेस्रोलिङ्गी व्यक्तिलाई पक्राउ गरिएको थियो। पक्राउको विरोधमा सोमबार बिहानदेखि तेस्रोलिङ्गी समुदायका व्यक्तिहरू तथा उनीहरूका समर्थकहरू जिल्ला प्रहरी कार्यालय अगाडि भेला भई नाराबाजी गर्दै रिहाइको माग गरेका थिए।

प्रदर्शन उग्र बनेपछि प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलको अवस्था सिर्जना भएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा प्रदर्शन नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको देखिन्छ। घटनास्थलमा सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको थियो।

प्रदर्शनका क्रममा सार्वजनिक शान्ति तथा सुरक्षामा असर पर्ने अवस्था देखिएपछि प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराले हाल स्थिति नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

यता प्रदर्शनकारीहरूले पक्राउ गरिएको व्यक्तिमाथि अन्याय भएको दाबी गर्दै तत्काल रिहा गर्न माग गरेका छन्। प्रहरीले भने कानुनी प्रक्रिया अनुसार अनुसन्धान अघि बढाइएको जनाएको छ।

यस घटनासँगै कलैया बजार क्षेत्रमा तेस्रो लिङ्गीद्वारा गरिने अशोभनीय गतिविधिको कारण स्थानीय व्यापारी तथा सर्वसाधारणले गुनासोसमेत गरेका छन्। अधिकांश व्यापारीहरूसँग जबर्जस्ती रकम माग्ने, दुर्व्यवहार गर्ने तथा सार्वजनिक स्थानमा अशोभनीय गतिविधि हुने गरेको आरोप लगाएका छन्। यद्यपि यस्ता आरोपहरूको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

स्थानीयवासीहरूले बजार क्षेत्रमा सुरक्षा निगरानी थप प्रभावकारी बनाउन तथा सार्वजनिक शान्ति कायम गर्न प्रशासनले दीर्घकालीन समाधान खोज्नुपर्ने माग गरेका छन्। प्रहरीले पनि सामाजिक संवेदनशीलतालाई ध्यानमा राख्दै कानुनी दायराभित्र रहेर आवश्यक कारबाही गरिने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button