मधेशसमाचार

कलैया–२६ मा व्यावसायिक भैंसी वितरण सुरु, नगरप्रमुख र उपप्रमुखद्वारा हस्तान्तरण

बारा, १२ असार
स्थानीय कृषकको आयआर्जन वृद्धि तथा दुग्ध उत्पादन विस्तार गर्ने उद्देश्यले कलैया उपमहानगरपालिका–२६ मा व्यावसायिक भैंसी वितरण तथा खोर सुधार कार्यक्रम सुरु गरिएको छ। कलैया उपमहानगरपालिकाको आर्थिक सहयोग तथा वडा नं. २६ का वडा अध्यक्ष धर्मेन्द्र यादवको विशेष पहलमा कार्यक्रम सञ्चालनमा आएको हो।

कार्यक्रमअन्तर्गत वडाका लक्षित कृषक परिवारलाई भैंसी हस्तान्तरणसँगै आधुनिक तथा व्यवस्थित खोर निर्माण र सुधारका लागि आवश्यक सहयोगसमेत उपलब्ध गराइने जनाइएको छ।

भैंसी वितरण कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद प्रसाद साह, उपप्रमुख रेशम प्रबिण तथा वडा अध्यक्ष धर्मेन्द्र यादवले संयुक्त रूपमा लाभग्राही कृषकलाई भैंसी हस्तान्तरण गरेका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कृषक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

वडा अध्यक्ष धर्मेन्द्र यादवका अनुसार कार्यक्रमअन्तर्गत कुल १४० जना लाभग्राहीलाई भैंसी वितरण गर्ने लक्ष्य राखिएको छ। पहिलो दिन १५ वटा भैंसी वितरण गरिएको छ भने बाँकी १२५ वटा भैंसी आगामी दुई दिनभित्र वितरण गरिने उनले जानकारी दिए।

उनले कृषकलाई आत्मनिर्भर बनाउने, स्थानीय स्तरमा दूध उत्पादन वृद्धि गर्ने तथा युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। “पशुपालनलाई व्यवसायिक बनाउँदै कृषकको आर्थिक अवस्था सुदृढ गर्ने हाम्रो लक्ष्य हो,” उनले भने।

भैंसी प्राप्त गरेका कृषकहरूले उपमहानगरपालिकाको पहलप्रति खुसी व्यक्त गर्दै यसले पशुपालन व्यवसाय विस्तार गर्न महत्वपूर्ण सहयोग पुग्ने बताएका छन्। खोर सुधार कार्यक्रमले पशुको स्वास्थ्य संरक्षण, सरसफाइ व्यवस्थापन तथा उत्पादन क्षमता वृद्धि गर्न मद्दत पुग्ने उनीहरूको भनाइ छ।

कलैया उपमहानगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्दै किसानलाई अनुदान, प्राविधिक परामर्श, पशु स्वास्थ्य सेवा तथा आधुनिक प्रविधिको प्रयोगमा प्रोत्साहन गर्दै आएको जनाएको छ। स्थानीय जनप्रतिनिधिहरूले यस्ता कार्यक्रमले ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउनुका साथै कलैयालाई व्यावसायिक दुग्ध उत्पादन केन्द्रका रूपमा विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button