
कलैया, १२ असार
“लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२६” को अवसरमा बाराको कलैयामा प्रभातफेरी तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । युवापुस्तालाई लागुऔषधको दुष्प्रभावबाट जोगाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाराको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो ।
मधेश प्रदेश अन्तर्गत मिति २०८३ असार १२ गते बिहान करिब ८ बजे जिल्ला प्रशासन कार्यालय कलैयाको प्राङ्गणबाट प्रभातफेरी सुरु गरिएको थियो । “लागुऔषध त्यागौँ, स्वस्थ समाज बनाऔँ”, “दुर्व्यसनमुक्त युवा, समृद्ध राष्ट्रको आधार” लगायतका नारासहित निकालिएको र्याली भरतचोक, खानेपानी संस्थान, सिद्धेश्वर मन्दिर हुँदै बजार क्षेत्र परिक्रमा गरी पुनः जिल्ला प्रशासन कार्यालयको सभा हलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविलाल भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा ३० जना प्रहरी, सशस्त्र प्रहरी बलबाट सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवालको कमाण्डमा २७ जना सुरक्षाकर्मी तथा राष्ट्रिय अनुसन्धान कार्यालयका अधिकृत सरोज निरौलासहित सुरक्षा निकायको सक्रिय सहभागिता रहेको थियो ।
त्यसैगरी मनकामना ईङ्लिस बोर्डिङ स्कुल कलैयाका विद्यार्थी, स्थानीय युवा, विभिन्न सुधार केन्द्रका प्रतिनिधि तथा सर्वसाधारण गरी करिब १५० देखि २०० जनाको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।
सभा हलमा आयोजित कार्यक्रममा वक्ताहरूले लागुऔषध दुर्व्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि परिवार, विद्यालय, समुदाय र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको बताए । उनीहरूले युवालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्दै जनचेतनामूलक अभियानलाई गाउँ–गाउँसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सहभागीहरूले लागुऔषधको प्रयोग, बिक्री वितरण तथा अवैध ओसारपसार नियन्त्रणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखेका थिए । जिल्लामा पछिल्लो समय बढ्दै गएको दुर्व्यसन नियन्त्रणका लागि यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ ।



