
बारा, ११ असार
बाराको सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका सरकारी दाबीबीच भारतबाट अवैध रूपमा फलफूल भित्र्याउने कार्य अझै निर्बाध रूपमा जारी रहेको तथ्य फेरि उजागर भएको छ। जिल्ला प्रहरी कार्यालय बाराले सुवर्ण गाउँपालिका–४ हरैया क्षेत्रमा छापा मारेर १२ कार्टुन फुजि स्याउ बरामद गरेपछि सीमावर्ती नाकाबाट दैनिक रूपमा भइरहेको तस्करी गतिविधि पुनः चर्चामा आएको हो।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा प्रहरी नायब निरीक्षक राम विष्णु यादवको नेतृत्वमा खटिएको टोलीले स्थानीय चन्दन कुमार साहको घरमा छापा मारेको थियो। छापामार कारबाहीका क्रममा भारतबाट चोरी–पैठारी गरी ल्याइएको आशंकामा १२ कार्टुन फुजि स्याउ फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको स्याउ आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको भए पनि सीमावर्ती क्षेत्रमा हुने यस्ता गतिविधिले सुरक्षा संयन्त्र र भन्सार निगरानीमाथि गम्भीर प्रश्न उठाएको छ।
स्थानीयका अनुसार बारा–पर्सा सीमावर्ती क्षेत्रमा दैनिक रूपमा भारतबाट फलफूल, तरकारी, किराना तथा अन्य उपभोग्य सामग्री अवैध रूपमा नेपाल भित्रिने क्रम बढ्दो छ। खुला सीमाको फाइदा उठाउँदै तस्कर समूहले रातिको समयमा मात्रै होइन, दिनदहाडै समेत सामान ओसारपसार गर्ने गरेको आरोप स्थानीय व्यापारीहरूको छ।
व्यवसायीहरूका अनुसार भन्सार छली गरेर ल्याइने सामानका कारण राज्यले राजस्व गुमाइरहेको मात्रै होइन, वैधानिक रूपमा कर तिरेर व्यापार गर्ने व्यवसायीसमेत प्रत्यक्ष मारमा परिरहेका छन्। बजारमा अवैध रूपमा ल्याइएका सस्ता सामग्री छ्याप्छ्याप्ती हुँदा स्थानीय व्यवसाय धराशायी बन्न थालेको उनीहरूको गुनासो छ।
सुरक्षा निकायले बेला–बेलामा सानो परिमाणमा सामान बरामद गरे पनि मुख्य तस्करी सञ्जालसम्म पुग्न नसक्दा नियन्त्रण अभियान प्रभावकारी बन्न नसकेको स्थानीयको आरोप छ। सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबारमा संगठित समूह सक्रिय रहेको र उनीहरूलाई राजनीतिक तथा प्रशासनिक संरक्षणसमेत हुने गरेको आशंका स्थानीयवासीले व्यक्त गरेका छन्।
प्रहरीले पछिल्लो समय सीमा क्षेत्रमा गस्ती तथा निगरानी बढाइएको दाबी गरे पनि बरामद घटनाहरूले तस्करी गतिविधि अझै रोकिएको छैन भन्ने स्पष्ट संकेत गरेको छ। स्थानीय सरोकारवालाले सीमावर्ती क्षेत्रमा कडा निगरानी, प्रभावकारी भन्सार नियन्त्रण तथा तस्करीमा संलग्न मुख्य गिरोहविरुद्ध कठोर कारबाहीको माग गरेका छन्।



