मधेशसमाचार

बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न कलैयामा आकस्मिक ट्राफिक चेकजाँच

बारा, ११ असार

बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्दै सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्था कार्यालय कलैयाले नेपाल प्रहरी र ट्राफिक प्रहरीसँगको सहकार्यमा बुधबार साँझ विशेष आकस्मिक सवारी चेकजाँच अभियान सञ्चालन गरेको छ।

कलैया–पिलुवा सडकखण्ड अन्तर्गत हनुमान मन्दिर नजिक सञ्चालन गरिएको संयुक्त चेकजाँच अभियान ट्राफिक व्यवस्था कार्यालय कलैयाका कार्यालय प्रमुख चिन्तन आचार्यको नेतृत्वमा सम्पन्न भएको हो। अभियानमा नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा यातायात व्यवस्था कार्यालय कलैयाका कर्मचारीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

चेकजाँचका क्रममा दुई सयभन्दा बढी सवारी साधनलाई रोकी सवारी चालक अनुमतिपत्र (लाइसेन्स), सवारी दर्ता किताब (ब्लुबुक), बीमा, कर तिरेको विवरण तथा सवारी साधनको प्राविधिक अवस्थाको निरीक्षण गरिएको कार्यालयले जनाएको छ।

अभियानका क्रममा अधिकांश चालकलाई ट्राफिक नियमको पालना गर्न सचेतना दिँदै सामान्य त्रुटिमा सम्झाइ–बुझाइ गरेर छाडिएको थियो भने नियम उल्लंघन गर्ने ११ वटा सवारी साधनलाई कारबाही गरिएको छ। कारबाहीबाट करिब ६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख चिन्तन आचार्यले जानकारी दिए।

आचार्यका अनुसार पछिल्लो समय तीव्र गति, हेल्मेट तथा सिटबेल्ट प्रयोगमा लापरवाही, मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति र आवश्यक कागजात बिना सवारी सञ्चालन गर्ने क्रम बढ्दै गएकोले दुर्घटना न्यूनीकरणका लागि नियमित निगरानी तथा आकस्मिक चेकजाँचलाई तीव्र पारिएको हो।

“सडक दुर्घटना न्यूनीकरणका लागि कारबाही मात्र होइन, जनचेतना पनि उत्तिकै आवश्यक छ,” उनले भने, “सवारी चालकले नियम पालना गरे दुर्घटनाको जोखिम धेरै हदसम्म कम गर्न सकिन्छ।”

चेकजाँच अभियानमा यातायात व्यवस्था कार्यालय कलैया बाराका लेखा प्रमुख रघुनन्दन यादव, इन्जिनियर, प्रशासन शाखाका कर्मचारी, नायब सुब्बा लगायतको उपस्थिति रहेको थियो।

स्थानीयवासीहरूले पनि बजार क्षेत्र तथा व्यस्त सडकखण्डमा यस्ता नियमित चेकजाँच अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्। उनीहरूका अनुसार साँझपख तीव्र गतिमा सवारी चलाउने तथा ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्ति बढ्दै गएकाले दुर्घटनाको जोखिम समेत बढिरहेको छ।

ट्राफिक व्यवस्था कार्यालयले आगामी दिनमा विद्यालय, बजार क्षेत्र तथा ग्रामीण सडकखण्डमा समेत संयुक्त सचेतना तथा अनुगमन अभियानलाई निरन्तरता दिने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button