मधेशसमाचार

कलैयामा ट्राफिकको बिशेष आकस्मिक चेकजाँच अभियान , दुई दिनमा २३ सवारी कारबाही

बारा, १२ असार

बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्दै सडक सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यले ट्राफिक व्यवस्था कार्यालय कलैयाले नेपाल प्रहरी र ट्राफिक प्रहरीसँगको सहकार्यमा विशेष आकस्मिक सवारी चेकजाँच अभियानलाई तीव्र बनाएको छ। बुधबार साँझदेखि सुरु गरिएको संयुक्त अभियान दोस्रो दिन बिहीबार पनि विभिन्न सडकखण्डमा निरन्तर सञ्चालन गरिएको हो।

ट्राफिक व्यवस्था कार्यालय कलैयाका कार्यालय प्रमुख चिन्तन आचार्य को नेतृत्वमा कलैया–पिलुवा सडकखण्ड अन्तर्गत हनुमान मन्दिर नजिक पहिलो दिन विशेष चेकजाँच अभियान सञ्चालन गरिएको थियो। अभियानमा नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा यातायात व्यवस्था कार्यालय कलैयाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यालयका अनुसार बुधबार साँझ मात्र दुई सयभन्दा बढी सवारी साधनलाई रोकी चालक अनुमतिपत्र (लाइसेन्स), सवारी दर्ता किताब (ब्लुबुक), बीमा, कर तिरेको विवरण तथा सवारी साधनको प्राविधिक अवस्थाको सूक्ष्म निरीक्षण गरिएको थियो। चेकजाँचका क्रममा अधिकांश चालकलाई ट्राफिक नियम पालना गर्न आग्रह गर्दै सामान्य त्रुटिमा सम्झाइ–बुझाइ गरेर छाडिएको थियो भने नियम उल्लंघन गर्ने ११ वटा सवारी साधनलाई कारबाही गरिएको थियो। उक्त कारबाहीबाट करिब ६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

यसैबीच अभियानलाई निरन्तरता दिँदै बिहीबार बिहान र साँझ कलैया–बरियारपुर सडकखण्ड तथा कलैया–वीरगञ्ज सडकखण्ड अन्तर्गत बैराटपुर क्षेत्रमा समेत संयुक्त चेकजाँच गरिएको थियो। दोस्रो दिन १ सय ७३ वटा सवारी साधनको परीक्षण गर्दा ट्राफिक नियम उल्लंघन गर्ने १२ वटा सवारी साधनलाई कारबाही गरिएको ट्राफिक व्यवस्था कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख आचार्यका अनुसार पछिल्लो समय तीव्र गतिमा सवारी चलाउने, हेल्मेट तथा सिटबेल्ट प्रयोगमा लापरवाही गर्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने तथा आवश्यक कागजात बिना सवारी सञ्चालन गर्ने प्रवृत्ति बढ्दै गएको छ। यस्ता गतिविधिका कारण सडक दुर्घटनाको जोखिम बढेकाले नियमित निगरानी र आकस्मिक चेकजाँच अभियानलाई प्रभावकारी रूपमा अघि बढाइएको उनले बताए।

उनले सडक सुरक्षाका लागि जनचेतनाको भूमिका पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै चालकहरूलाई जिम्मेवार बन्न आग्रह गरे। “सडक दुर्घटना न्यूनीकरणका लागि कारबाही मात्र पर्याप्त हुँदैन, चालक स्वयं सचेत हुन आवश्यक छ,” उनले भने, “ट्राफिक नियमको पूर्ण पालना भए दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ।”

अभियानमा यातायात व्यवस्था कार्यालय कलैया बाराका लेखा प्रमुख रघुनन्दन यादव, इन्जिनियर, प्रशासन शाखाका कर्मचारी, नायब सुब्बा तथा सुरक्षा निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

स्थानीयवासीहरूले बजार क्षेत्र, विद्यालय आसपास तथा व्यस्त सडकखण्डमा यस्ता नियमित चेकजाँच अभियान आवश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार साँझपख तीव्र गतिमा सवारी सञ्चालन गर्ने तथा ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्ति बढ्दै गएकाले दुर्घटनाको जोखिम समेत बढिरहेको छ।

ट्राफिक व्यवस्था कार्यालय कलैयाले आगामी दिनमा विद्यालय क्षेत्र, बजार तथा ग्रामीण सडकखण्डहरूमा समेत संयुक्त ट्राफिक सचेतना, अनुगमन तथा आकस्मिक चेकजाँच अभियानलाई निरन्तरता दिने जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button