मधेशसमाचार

प्रादेशिक अस्पातालको परीक्षा बिवाद अख्तियारसम्म

कलैया, ११ असार

बाराको कलैयास्थित प्रादेशिक अस्पताल कलैया मा सञ्चालित कर्मचारी भर्ना परीक्षामा अनियमितता भएको आरोप लगाउँदै युवाहरूको संस्था जेन-जी युथ अफ बारा ले अख्तियारसहित विभिन्न सरकारी निकायमा उजुरी दर्ता गराएको छ। संस्थाले परीक्षा प्रक्रियामा आर्थिक चलखेल, प्रश्नपत्र गोपनीयता भंग तथा सेटिङमार्फत उम्मेदवार उत्तीर्ण गराउने प्रयास भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेको हो।

संस्थाका अध्यक्ष सौरभ पाण्डे को हस्ताक्षर रहेको उजुरीपत्रमा गत जेठ २४ र २५ गते सञ्चालन गरिएको लिखित परीक्षामा गम्भीर अनियमितता भएको उल्लेख गरिएको छ। उजुरीमा पदपूर्ति समितिका संयोजक भगवान मिश्र ले उम्मेदवारलाई उत्तीर्ण गराइदिने आश्वासन दिँदै करिब ३० लाख रुपैयाँ असुल गरेको आरोप लगाइएको छ।

उजुरीपत्रमा डा. मिश्रले उम्मेदवार राजु जयसवालसँग होटलमा भेटघाट गरेको तथा वीरगञ्जस्थित एक न्यूरो अस्पताल पुगेर प्रश्नपत्रको गोपनीयता भंग गरेको दाबी समेत गरिएको छ। यद्यपि आरोपबारे सम्बन्धित पक्षको औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।

‘जेन-जी युथ अफ बारा’ ले घटनाको निष्पक्ष छानबिनका लागि स्वतन्त्र अनुसन्धान समिति गठन गर्न, आरोपित व्यक्तिको फोन कल विवरण र आर्थिक कारोबार अनुसन्धानको दायरामा ल्याउन तथा अनुसन्धान पूरा नभएसम्म जिम्मेवारीबाट अलग राख्न माग गरेको छ।

संस्थाले छानबिन प्रतिवेदन सार्वजनिक गरी दोषी देखिएकामाथि कडा कानुनी कारबाही गर्न समेत आग्रह गरेको छ। परीक्षा प्रणालीमाथिको जनविश्वास कमजोर हुने खालका गतिविधि सह्य नहुने भन्दै युवाहरूले पारदर्शी र निष्पक्ष प्रक्रिया सुनिश्चित गर्न सम्बन्धित निकायलाई दबाब दिएका छन्।

उक्त उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, स्वास्थ्य मन्त्रालय मधेश प्रदेश, जिल्ला प्रशासन कार्यालय बारा लगायत पाँच वटा निकायमा बोधार्थसहित बुझाइएको जनाइएको छ।

घटनाले स्वास्थ्य क्षेत्रको परीक्षा प्रणाली र सार्वजनिक संस्थामाथिको विश्वासमाथि प्रश्न उठाएको भन्दै सरोकारवालाहरूले निष्पक्ष र पारदर्शी छानबिनको आवश्यकता औंल्याएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button