मधेशसमाचार

ठोरीमा १५८ किलो गाँजा बरामद , सशस्त्र प्रहरीको घेराबन्दी खोजतलास अभियान

हरिकिशोर शर्मा

पर्सा, १२ असार

पर्साको ठोरी गाउँपालिका–४ मिलचोक क्षेत्रमा सशस्त्र प्रहरी बलले सञ्चालन गरेको घेराबन्दी तथा खोजतलास अभियानका क्रममा ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा सीमा सुरक्षा गुल्म मुख्यालय भिखमपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन बोगटीको नेतृत्वमा ५४ सदस्यीय टोली परिचालन गरिएको थियो। टोलीले स्थानीय गम्भिर श्रेष्ठको जस्ताले छाएको पक्की घरलाई चारैतर्फबाट घेरा हाली खोजतलास गरेको जनाएको छ।

नेपाल प्रहरी तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा गरिएको खोजतलासका क्रममा ११ वटा प्लास्टिक तथा बोरामा लुकाइराखिएको १५८ किलो प्रतिबन्धित गाँजा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गाँजा नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ। घटनाका मुख्य आरोपित गम्भिर श्रेष्ठ भने फरार रहेका छन्।

प्रहरीका अनुसार गम्भिर श्रेष्ठ घरमा फेला नपरेपछि उनका दुई नाबालक सन्तानको अवस्थालाई ध्यानमा राख्दै उनकी श्रीमती अस्मिता तामाङ श्रेष्ठलाई ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ को उपस्थितिमा जिम्मा लगाइएको छ।

इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक मिलनबहादुर विक ले बरामद लागूऔषध सम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button