नेपाली कांग्रेस क्षेत्रीय समिति–३ द्वारा समानुपातिक उम्मेदवार दास र जयस्वाल सम्मानित

48

कलैया, १७ पौष

नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यका समानुपातिक उम्मेदवारहरू प्रियंका दास र राजेन्द्र जयस्वाललाई नेपाली कांग्रेस क्षेत्रीय समिति–३ ले एक कार्यक्रमबीच बधाई तथा सम्मान गरेको छ।

क्षेत्रीय समिति–३ द्वारा आयोजित उक्त कार्यक्रममा पार्टीको संगठन सुदृढीकरण, लोकतन्त्रको संरक्षण तथा समावेशी प्रतिनिधित्वका क्षेत्रमा दास र जयस्वालले पुर्‍याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री फरमुल्लाह मन्सूरले समानुपातिक प्रणालीमार्फत संसदमा पुग्ने प्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त र जनताको आवाजलाई सशक्त रूपमा उठाउने विश्वास व्यक्त गरे। उनले पार्टीप्रतिको निष्ठा, संघर्ष र समर्पणको उचित मूल्यांकन गरिएको उल्लेख गर्दै नयाँ सञ्चार क्षेत्रमा सक्रिय युवा उम्मेदवार प्रियंका दास तथा कांग्रेस संगठन निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएका राजेन्द्र जयस्वाललाई पार्टीले अगाडि बढाएको बताए। आगामी दिनमा उनीहरूले अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा पनि व्यक्त गरे।

सम्मानित उम्मेदवार दास र जयस्वालले पार्टीले दिएको जिम्मेवारीलाई जनसेवा, लोकतन्त्र र संविधानको मर्मअनुसार इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै क्षेत्रीय समिति तथा सम्पूर्ण कार्यकर्ताप्रति धन्यवाद ज्ञापन गरे।

क्षेत्रीय सभापति प्रभात चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.