
बारा , ०५ मंसिर
कलैया उपमहानगरपालिका–१४ भौरास्थित खेल मैदानमा स्वर्गीय युवा नेता सुजित कुमार पाण्डेयको स्मृतिमा आयोजित सुजित मेमोरियल कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल भोलि अर्थात् आइतबार हुने भएको छ। फाइनल खेलका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
जनमत पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता सुजित कुमार पाण्डेयको गत भदौ ११ गते भएको असामयिक निधनपछि उहाँको सम्झना तथा समाजमा पुर्याएको योगदानलाई सम्मान गर्दै प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताले स्वर्गीय पाण्डेयको सामाजिक योगदान, युवाप्रतिको लगाव तथा खेलकुदप्रतिको रुचिलाई स्मरण गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।
पिएसआर खबरको सञ्चालक एवम् कान्तिपुर टेलिभिजनका बारास्थित संवाददाता तथा कलैया उपमहानगरपालिका–१४ निवासी रमेश ठाकुरले स्वर्गीय पाण्डेयको स्मृतिमा आयोजित प्रतियोगिताले स्थानीय युवालाई खेलकुदमार्फत एकताबद्ध बनाउनुका साथै उहाँले समाजमा गरेका उदाहरणीय कार्यको सम्मान गर्ने अवसर प्रदान गरेको बताएका छन्।
गत कार्तिक २३ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न टोलीबीच प्रतिस्पर्धा हुँदै आएको छ। प्रतियोगिताको फाइनलमा कलैया उपमहानगरपालिका वडा नं. ६ र वडा नं. १२ का टोली आमनेसामने हुने भएका छन्। फाइनल खेल भोलि अर्थात् आइतबार दिउँसो १२:१५ बजे कलैया–१४ भौरास्थित खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको प्रचार सामग्रीमा उल्लेख छ।
युथ अफ कलैया–१४ खेलकुद व्यवस्थापन समितिको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको फाइनललाई भव्य रूपमा सम्पन्न गर्न मैदान व्यवस्थापन, खेलाडीको तयारी तथा अन्य आवश्यक व्यवस्थापनका काम पूरा गरिएको आयोजकले जनाएको छ।
स्थानीय युवामा खेलकुदप्रतिको आकर्षण बढाउने, प्रतिभालाई प्रोत्साहन गर्ने तथा स्वर्गीय सुजित कुमार पाण्डेयको स्मृतिलाई जीवन्त राख्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको फाइनल खेल हेर्न स्थानीय खेलप्रेमी तथा दर्शकलाई आयोजकले आमन्त्रण गरेको छ।



