मधेशसमाचार

देवतालमा निःशुल्क स्वास्थ्य शिविर, ३०० भन्दा बढी नागरिक लाभान्वित

उपेन्द्र पासवान
बारा, ०५ मंसिर
 बाराको देवताल गाउँपालिकामा गाउँपालिका अध्यक्ष पदका प्रत्यासी हरिलाल यादव (बच्चु बाबा) को आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। देवताल गाउँपालिका–४, पिप्राढीस्थित पोखरी परिसरमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित शिविरबाट ३०० भन्दा बढी स्थानीय नागरिकले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
स्थानीय नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने तथा आर्थिक अवस्था कमजोर भएका र स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणलाई लक्षित गरी शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ। शिविरमा विभिन्न रोगको स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा आवश्यक स्वास्थ्य सेवा निःशुल्क प्रदान गरिएको थियो।
शिविरमा जनरल फिजिसियन डा. सर्फलाल साह, स्त्री तथा महिला रोग विशेषज्ञ डा. राजेश्वरी श्रेष्ठ (हेटौँडा) र बवासीर रोग विशेषज्ञ डा. विनोद यादव (कलैया) ले बिरामीहरूको स्वास्थ्य परीक्षण गर्दै उपचार तथा परामर्श सेवा दिएका थिए।
शिविरमा औषधि व्यवस्थापन एस.आर. ड्रग्सले गरेको थियो। संस्थाका तर्फबाट विकास कुमार गुप्ता र कृष्ण कुमार साह सहभागी भएका थिए भने शिविरको व्यवस्थापन तथा चिकित्सक समन्वयमा मदिना मेडिकल फार्मेसी, कलैयाले सहयोग गरेको थियो।
आयोजकका अनुसार शिविरमा ११० जना महिला र १९० जना पुरुष गरी कुल ३०० जना नागरिकले स्वास्थ्य सेवा प्राप्त गरेका थिए। शिविरमा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
स्वास्थ्य सेवाबाट वञ्चित तथा आर्थिक रूपमा कमजोर नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको उक्त शिविरलाई स्थानीयस्तरमा सामाजिक सेवा, जनहित र मानवीय सहयोगको सकारात्मक पहलका रूपमा लिइएको छ। स्थानीय नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button