
नविन चौधरी
बारा , ०६ मंसिर
बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नं. १, खैरामा जन्मिएका हिरामणि खनालले स्थानीय स्कुल श्री अनुप दीपानी माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका हुन्। तत्कालीन समयमा कोल्हवी क्षेत्रमा उच्च शिक्षा अध्ययनका लागि कुनै पनि कलेज नरहेकाले उनी उच्च शिक्षाको खोजीमा काठमाडौँ प्रस्थान गरेका थिए। काठमाडौँमा अध्ययनसँगै व्यवसायमा आबद्ध भई सफल र स्वच्छ छवि बनाएका खनाललाई सहरको सुखसुविधाभन्दा आफ्नै जन्मभूमिको विकास र त्यहाँका नागरिकको जीवनस्तर उकास्ने हुटहुटीले पुनः कोल्हवी फर्कायो।
शून्यबाट वित्तीय र व्यावसायिक क्रान्तिको सुरुवात
विसं २०६५ सालताका कोल्हवी क्षेत्रमा बैंकिङ तथा वित्तीय कारोबार गर्ने संस्थाहरूको अभाव थियो। स्थानीय नागरिकले सानोतिनो आर्थिक कारोबारका लागि पनि बाहिर धाउनुपर्ने बाध्यता देखेपछि खनालले साथीभाइहरूलाई समेटेर “आफ्नै ठाउँमा केही गर्नुपर्छ” भन्ने अभियान सुरु गरे। सोही पहलको परिणामस्वरूप कोल्हवीमा वित्तीय पहुँच विस्तार गर्न ‘तामागढी बचत तथा ऋण सहकारी संस्था’ को स्थापना भयो। स्थानीयस्तरमै पुँजी परिचालन र रोजगारी सिर्जना गर्ने उद्देश्यले खोलिएको उक्त संस्थाले कोल्हवीको आर्थिक गतिविधि चलायमान बनाउन महत्त्वपूर्ण कोसेढुङ्गाको काम गरेको छ।
कोल्हवीलाई चिनाउने र रोजगारी दिने अभियान
वित्तीय संस्थाको स्थापनाले मात्र नगरको समग्र पहिचान र विकास सम्भव नहुने बुझेका खनालले कोल्हवीलाई आतिथ्य सत्कार (हस्पिटालिटी), आधुनिक व्यापार र व्यवस्थित सहरीकरणतर्फ डोऱ्याउन निरन्तर लगानी विस्तार गरे:
• तामागढी इभेन्ट भेन्यु प्रा.लि. (Tamagadhi Event Venue Pvt. Ltd.): कोल्हवीमा आउने पाहुना तथा स्थानीय कार्यक्रमहरूका लागि स्तरीय सेवा प्रदान गर्न उनले रेस्टुरेन्ट, पार्टी प्यालेस र गेस्ट हाउससहितको सुविधासम्पन्न भेन्यु सञ्चालनमा ल्याए। यसले कोल्हवीको आतिथ्य क्षेत्रलाई नयाँ उचाइ दिनुका साथै स्थानीय युवाहरूलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ।
• तामागढी मार्ट (Tamagadhi Mart): स्थानीय उपभोक्तालाई एउटै छानामुनि गुणस्तरीय दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन र आधुनिक किनमेलको संस्कृति विकास गर्न उनले तामागढी मार्ट सञ्चालनमा ल्याए।
• तामागढी प्रोपर्टिज (Tamagadhi Properties): कोल्हवीको व्यवस्थित भौतिक विकास र आवास क्षेत्रको विस्तारमा योगदान पुऱ्याउने लक्ष्यका साथ उनले तामागढी प्रोपर्टिजमार्फत व्यावसायिक यात्रा अगाडि बढाएका छन्।
किन मेयरको आकांक्षा?
आफ्ना विभिन्न व्यवसायमार्फत दर्जनौँ स्थानीय युवाहरूलाई स्वदेशमै रोजगारी दिइरहेका खनालको बुझाइमा कोल्हवीको वास्तविक विकास तब मात्र सम्भव छ, जब स्थानीय सरकारको नेतृत्व विकासप्रेमी, पारदर्शी र व्यवस्थापकीय क्षमता भएको व्यक्तिले गर्छ।
”मैले व्यवसायमार्फत कोल्हवीको आर्थिक विकास र रोजगारी सिर्जनामा सानो प्रयास गरेको हुँ। तर, नगरका समग्र जनताको जीवनस्तर उकास्न, शिक्षा र स्वास्थ्यमा सुधार ल्याउन तथा कोल्हवीलाई नमुना नगर बनाउन नीतिगत तहबाटै काम गर्नुपर्ने आवश्यकता महसुस गरी मैले मेयर पदमा आकांक्षा राखेको हुँ,” खनाल भन्छन्।
व्यावसायिक सफलता, इमानदार छवि र जन्मभूमिप्रतिको अगाध प्रेमका कारण कोल्हवीका युवापुस्ता र स्थानीय बासिन्दामाझ हिरामणि खनाल एक आशावादी र सक्षम नेतृत्वका रूपमा चर्चामा छन्।



