प्रेस चौतारी बारा–२ को भेला, चुनावी रणनीतिमा जोड

39

बारा, १२ माघ

आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै प्रेस चौतारी नेपाल बारा निर्वाचन क्षेत्र नम्बर–२ को क्षेत्रीय भेला सोमबार सम्पन्न भएको छ। भेलामा नेकपा (एमाले) का उम्मेदवारहरूको पक्षमा जनमत विस्तार गर्न प्रेस चौतारीको भूमिकालाई अझ सक्रिय बनाउने निर्णय गरिएको छ।

कलैयास्थित नेकपा (एमाले) को पार्टी कार्यालयमा आयोजित भेलामा प्रेस चौतारी नेपाल बारा–२ का संयोजक धिरेन्द्र तिवारीको अध्यक्षतामा छलफल गरिएको थियो। छलफलमा चुनावी माहोल, सञ्चार रणनीति र संगठन सुदृढीकरणका विषय प्रमुख रूपमा उठाइएका थिए।

भेलालाई सम्बोधन गर्दै एमालेका बारा क्षेत्र नं. २ का उम्मेदवार बलबिर चौधरीले पार्टीले विगतमा गरेका विकास, सुशासन र राष्ट्रियताको पक्षमा भएका कामहरूलाई तथ्यका आधारमा जनतामाझ लैजानु आवश्यक रहेको बताए। “अनावश्यक विषयमा अल्झिनुभन्दा एमालेले गरेका सकारात्मक कामको प्रभावकारी प्रचार गर्न सके चुनावी परिणाम हाम्रो पक्षमा आउने निश्चित छ,” उनले भने।

उम्मेदवार चौधरीले विभिन्न दलहरूको प्रभाव देखिए पनि जनताको भरोसा एमालेप्रति बढ्दो रहेको दाबी गर्दै यस निर्वाचनमा उल्लेख्य मतसहित विजयी हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा एमाले बारा जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेले संगठनात्मक मजबुती नै यसपटकको मुख्य शक्ति भएको बताए। उनले उम्मेदवारको छवि, कार्यकर्ताको सक्रियता र पार्टीको राजनीतिक योगदानका कारण बारा–२ मा एमालेले जित निकाल्ने दाबी गरे। उनले प्रेस चौतारीका सदस्यहरूलाई अझ प्रभावकारी रूपमा कलम चलाउन आग्रहसमेत गरे।

प्रेस चौतारी नेपाल मधेस प्रदेशका सह–इन्चार्ज तथा नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदीले स्थानीय तहमा एमालेप्रति जनसमर्थन सकारात्मक रहेको उल्लेख गर्दै निर्वाचन चुनौतीपूर्ण नभएको धारणा राखे।

भेलामा प्रेस चौतारी नेपाल मधेस प्रदेश इन्चार्ज अच्युत पौडेल, एमाले बारा उपाध्यक्ष भुलन चौधरी, जिल्ला सचिव शर्मा बैठा, प्रेस चौतारीका नरेश गुप्ता, जिउत प्रसाद यादवलगायतको सहभागिता रहेको थियो।

भेलाको निष्कर्षस्वरूप आगामी निर्वाचनसम्म योजनाबद्ध रूपमा प्रचार–प्रसारलाई तीव्र बनाउने र प्रेस चौतारीको संगठनात्मक क्षमता थप मजबुत बनाउने निर्णय गरिएको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.