मधेशसमाचार

कालिकामाई मेलामा युवा समाजद्वारा पानी–प्रसाद वितरण तथा स्वास्थ्य शिविर

पर्सा , १४ चैत

पर्साको कालिकामाई गाउँपालिकास्थित कालिकामाई युवा समाजले रामनवमीको अवसरमा लाग्ने कालिकामाई मेलामा पानी तथा प्रसाद वितरणसँगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। हरेक वर्षझैँ यस वर्ष पनि सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिँदै समाजले श्रद्धालु भक्तजनहरूको सेवामा सक्रिय भूमिका निर्वाह गरेको हो।

युवा समाजका अध्यक्ष आकाश चौरसियाले मेलामा आउने भक्तजनहरूको सहजता र स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै विगत चार वर्षदेखि यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले आगामी दिनहरूमा पनि समाजसेवाका कार्यलाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रमअन्तर्गत कट्टिबलुवाका समाजसेवी युवा डब्लु साह गोढले करिब ७०० बोतल मिनरल वाटर सहयोग प्रदान गर्नुभएको थियो। स्वास्थ्य शिविर सञ्चालनका लागि कालिकामाई गाउँपालिकाको स्वास्थ्य शाखासँग सहकार्य गरिएको थियो भने प्रसाद वितरण तथा अन्य व्यवस्थापनमा संस्थाका सदस्यहरू सक्रिय रूपमा खटिएका थिए।

युवा समाजका वरिष्ठ उपाध्यक्ष आकाश महतोका अनुसार कार्यक्रमले मेलामा सहभागी श्रद्धालुहरूलाई प्रत्यक्ष रूपमा राहत र सेवा प्रदान गरेको छ। शिविरमा आएका बिरामीहरूलाई प्राथमिक स्वास्थ्य जाँच तथा आवश्यक परामर्श समेत उपलब्ध गराइएको थियो।

कार्यक्रममा युवा समाजका अध्यक्ष आकाश चौरसिया, वरिष्ठ उपाध्यक्ष आकाश महतो, उपाध्यक्ष भरत साह, संस्थापक सदस्य मोहन महतो, राकेश सरार्फ, रमेश चौरसिया तथा सदस्यहरू नितेश कुशवाहा, अशोक साह, विनय चौरसिया, अफजल मियाँ, राजेश चौरसिया लगायतको सक्रिय सहभागिता रहेको थियो। साथै स्वास्थ्यकर्मीहरू धिरेन्द्र रेवानी र शैलेन्द्र चौरसिया सहित अन्य समाजसेवी युवाहरूको उल्लेख्य उपस्थिति रहेको संस्थापक सदस्य रमेश चौरसियाले जानकारी दिनुभयो।

स्थानीयवासीका अनुसार यस्ता सामाजिक तथा मानवीय कार्यहरूले मेलालाई व्यवस्थित बनाउनका साथै समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button