मधेशसमाचार

९ महिनादेखि तलब नपाएपछि आन्दोलनमा छिपहरमाईका करार कर्मचारी

हरिकिशोर शर्मा
पर्सा,२८ जेठ २८

पर्साको छिपहरमाई गाउँपालिकामा कार्यरत करार कर्मचारीहरू नौ महिनादेखि तलब–भत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन्। कार्तिक महिनादेखिको पारिश्रमिक भुक्तानी हुन नसकेको जनाउँदै कर्मचारीहरूले विगत तीन दिनदेखि गाउँपालिका कार्यालय अगाडि शान्तिपूर्ण धर्ना सुरु गरेका हुन्।

आन्दोलनरत कर्मचारीहरूका अनुसार आर्थिक वर्षको सुरुदेखि नै तलब भुक्तानीमा समस्या देखिए पनि सम्बन्धित निकायबाट पटक–पटक आश्वासन मात्र प्राप्त भएको छ। “छिट्टै भुक्तानी हुन्छ” भन्ने प्रतिबद्धता दोहोरिए पनि हालसम्म कुनै ठोस पहल नभएको उनीहरूको गुनासो छ।

कर्मचारीहरूले गाउँपालिकाकी कार्यवाहक अध्यक्ष लिलावती देवी कानुलाई ज्ञापनपत्र बुझाउँदै २०८२ साल कार्तिक महिनादेखिको बाँकी तलब–भत्ता तत्काल उपलब्ध गराउन माग गरेका छन्। उनीहरूले २०८३ जेठ २५ गतेदेखि नियमित कार्यालय कार्यसँगै धर्ना कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

धर्नामा सहभागी कर्मचारी गौरीशङ्कर यादवले लामो समयसम्म पारिश्रमिक नपाउँदा दैनिक जीवन नै संकटमा परेको बताए। उनका अनुसार घरपरिवारको खर्च धान्न, छोराछोरीको शिक्षाको व्यवस्था गर्न तथा बैंक तथा सहकारीबाट लिएको ऋण तिर्न समेत समस्या भइरहेको छ।

“हामी जनतालाई सेवा दिन प्रतिबद्ध छौँ, त्यसैले कार्यालयको काम पूर्ण रूपमा बन्द गरेका छैनौँ,” उनले भने, “तर नौ महिनासम्म काम गरेर पनि तलब नपाउँदा आफ्ना अधिकारका लागि आवाज उठाउन बाध्य भएका छौँ।”

करार कर्मचारीहरूको आन्दोलन लम्बिँदै गए गाउँपालिकाबाट प्रवाह हुने प्रशासनिक तथा विकाससम्बन्धी सेवा प्रभावित हुन सक्ने देखिएको छ। स्थानीय सेवाग्राहीहरूमा समेत यसको असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

यस विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव साहसँग प्रतिक्रिया लिन प्रयास गरिए पनि सम्पर्क हुन नसकेको बताइएको छ। तलब–भत्ता भुक्तानीमा ढिलाइ हुनुको कारणबारे गाउँपालिकाले हालसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन।

कर्मचारीहरूले आफूहरूको माग कुनै अतिरिक्त सुविधा नभई श्रमको उचित पारिश्रमिक रहेको उल्लेख गर्दै तत्काल बक्यौता तलब भुक्तानी गरी समस्या समाधान गर्न गाउँपालिका नेतृत्वसँग आग्रह गरेका छन्। उनीहरूले वार्तामार्फत समाधान खोज्न तयार रहेको जनाउँदै माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button