
रौतहट २८ जेठ
नेपाल मुस्लिम शान्ति समाज रौतहट जिल्ला शाखाको एक विशेष तथा बृहत् बैठक राजपुर नगरपालिका वडा नं. ६ पानीटंकीस्थित केन्द्रीय सम्पर्क कार्यालयमा भव्यताका साथ सम्पन्न भएको छ। जिल्ला कार्यसमितिका पदाधिकारीहरू र वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका आप्रवासी सदस्यहरूको संयुक्त उपस्थितिमा आयोजित उक्त बैठकले संगठनको भावी दिशा, संस्थागत सुदृढीकरण र सामाजिक रूपान्तरणका विषयमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
बैठक नेपाल मुस्लिम शान्ति समाजका केन्द्रीय/वरिष्ठ उपाध्यक्ष शेख सदामको प्रमुख आतिथ्य तथा रौतहट जिल्ला कार्यसमिति अध्यक्ष कारी समिअख्तरको अध्यक्षतामा सञ्चालन भएको थियो। बैठकको सुरुवातमै संस्थाले विगतका दिनहरूमा गरेका गतिविधि हासिल गरेका उपलब्धि र देखा परेका आन्तरिक कमी-कमजोरीहरूमाथि गम्भीर आत्मसमीक्षा गरिएको थियो।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि शेख सदामले मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा संगठनको बलियो उपस्थिति रहेको दाबी गरे। उनले विशेष गरी रौतहट, बारा, पर्सा, धनुषा र महोत्तरी जिल्लामा संगठनको आधारशिला निकै मजबुत रहेको उल्लेख गर्दै आगामी दिनमा यसलाई अझै जनस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिए । उक्त विशेष बैठकमा वैदेशिक शाखा र स्थानीय राजनीतिक तथा सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। बैठकमा दोहा कतार शाखाका अध्यक्ष शेष इस्तेखार तथा सचिव नूर आलमले वैदेशिक भूमिमा रहेका नेपाली मुस्लिम समुदायको ऐक्यबद्धता र मातृभूमिका लागि गर्न सकिने योगदानबारे आफ्नो धारणा राखेका थिए।
त्यस्तै कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट विधायक प्रत्यासी आफताब आलम, नेपाली जामे मस्जिद काठमाडौंका इमाम सदाम नदवी, सामाजिक अभियन्ताहरू फैयाज फैजी, शेख कमरुदिन, इस्तेखार, इम्तेयाज आलम, म. मसिम, तेजापाकडका शेख मजहर आलम, जसले आलम, र म. अमानुल्लाह लगायत विभिन्न देशमा रहेका शाखाहरूका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।
उपस्थित वक्ताहरूले मुस्लिम समुदायमा व्याप्त कतिपय सामाजिक कुरीतिहरूका विरुद्ध एकजुट हुनुपर्ने र समाजमा शान्ति, सद्भाव तथा भ्रातृत्व कायम राख्न नेपाल मुस्लिम शान्ति समाजले खेलेको भूमिकाको प्रशंसा गरेका थिए। बैठकको समापन गर्दै अध्यक्ष कारी समिअख्तरले पारित निर्णयहरूलाई अक्षरसः पालना गर्दै छिट्टै कार्यक्षेत्रमा ओर्लिने प्रतिबद्धता व्यक्त गरे ।



